हङकङ अध्यागमन विभागले द्रुत ई–च्यानल सीमा क्लियरेन्स सुविधा प्रयोग गर्न पाउनेको संख्या थप विस्तार गरेको छ।
अध्यागमन विभागका अनुसार थप ४ लाख २० हजार मानिसले यस्तो सुविधा प्रयोग गर्न सक्ने गरी सेवा विस्तार गरिएको हो।
सुविधा प्रयोग गर्न पाउनेहरूमा विदेशी घरेलु सहयोगी, अन्य प्रकारका आयातित कामदार र हङकङ परिचयपत्र बाहक गैरस्थानीय विद्यार्थीहरू थपिएका हुन्।
यस्तो सुविधा प्राप्त गर्नको लागि उमेर भने ११ वर्षभन्दा माथिको हुनुपर्नेछ। जसले सहरबाट बाहिर निस्कन र पुनः प्रवेश गर्न द्रुत ई–च्यानल प्रयोग गर्न सक्नेछन्।
विभागले नयाँ व्यवस्थाबाट करिब ३ लाख ५० हजार घरेलु सहयोगी, करिब १० हजार अन्य आयातित कामदार र ६० हजार गैरस्थानीय विद्यार्थी लाभान्वित हुने अनुमान गरेको छ।
यसअघि उनीहरूले सहरबाट बाहिरिँदा वा पुनः प्रवेश गर्दा सीमा नाकाहरूमा सेवा काउन्टरहरू प्रयोग गर्नुपर्थ्यो।
लाभान्वितहरूले ई–च्यानल प्रयोग गर्नका लागि पहिलो पटक सरकारको ‘आईएम स्मार्ट’ मोबाइल एपमा आफ्नो पहिचान प्रमाणित गर्नुका साथै विभागको मोबाइल कन्ट्याक्टलेस ई–च्यानल सर्भिसमा आफ्नो आईडी दर्ता गर्नु पर्दछ।
यसपछि मात्र उनीहरू सेवा प्रयोग गर्न योग्य हुनेछन्। यसपछि सेवा लिँदा यही एप वा आईडी कार्डबाट क्यूआर कोड प्रयोग गर्न सकिनेछ।
Shares
प्रतिक्रिया