चीनका उच्च अधिकारीहरूले हङकङका बासिन्दालाई सी जिनपिङको पुस्तक पढ्न सुझाव दिएका छन्।
हङकङमा बुधबारदेखि सुरु भएको पुस्तक मेलामा अधिकारीहरूले उक्त कुरा बताएका हुन्। सीका पुस्तकले हङकङका बासिन्दालाई शासकको विचार र अवधारणा बुझ्न सहज हुने उनीहरूको विश्वास छ।
केन्द्रीय सरकारको सम्पर्क कार्यालयका निर्देशक झेङ याङसिङले सीका दर्शनले हङकङको अर्थतन्त्रको विकास, जीविकोपार्जनमा सुधार, देशभक्ति र राष्ट्रिय भावनाको विकासमा सघाउ पुग्ने बताए।
यसका साथै उनले चीनको ‘एक देश, दुई प्रणाली’ नीतिलाई बुझ्नका लागि सीका विचारमा आधारित पुस्तकहरू महत्वपूर्ण हुने कुरामा जोड दिए।
यस्तै, पुस्तक मेलामा बोल्ने अन्य अधिकारी तथा राजनीतिज्ञले पनि सीका पुस्तकले हङकङका बासिन्दालाई महत्वपूर्ण योगदान दिनसक्ने बताएका थिए।
‘सीका पुस्तकले हङकङबासीलाई देशको नेताको नजिक ल्याउन सहयोग गर्नुका साथै मुख्यभूमि चीनसँगको सामीप्यता बढाउँछ,’ पुस्तक मेलामा बोल्ने एक वरिष्ठ रजनीतिज्ञले भने।
वान चाइस्थित सम्मेलन तथा प्रदर्शनी केन्द्रमा बुधबारदेखि चलिरहेको हङकङ पुस्तक मेला जुलाई २५ सम्म चल्नेछ।
Shares
प्रतिक्रिया