चार दशकअघि ताप्लेजुङको बिकट गाउँ फुरुम्बुमा लालबहादुर लिम्बू र धनमायाका कान्छा छोरा रुपमा जन्मिएका यामनाथले हङकङजस्तो विकशित र प्रतिस्पर्धात्मक शहरमा 'ट्रैल रनर' बनेर सेलिब्रेटी हुन्छु भन्ने सपनामा पनि सोचेका थिएनन।
सफलताको स्वाद चाख्न उमेरको तगारोले छेक्दैन भन्ने उनले प्रमाणित गरेर देखाईदिए। लाहुरे परिवारमा हुर्केकाले उनीलाई पनि गोर्खा सेनामा भर्ती हुनुथियो। तर, गल्लावालाकोमा गएर पटक पटक छातीमा नाम लेखाए पनि लाहुरे हुने उनको धोको पूरा भएन्।
त्यही चोटले रन्थनिएर उनी सन २००९ मा हङकङ छिरे। शुरुका दिनमा उनको काम हङकङमा हाते श्रम थ्रीडी(डर्टी, डेन्जर्स, डिफिकल्ट)मै बिताए। त्यहीबीच छुट्टिको समयमा उनी ट्रैल रनिङमा सहभागिता जनाउँन थाले। विगत दुई बर्ष यता उनी हङकङमा नेपालीहरुबीच मात्र हैन, चिनियाँ तथा विश्वभरका ट्रैल रनर बिच 'नुगोयाम' नामले परिचितमात्रै छैनन् लोकप्रिय पनि छन्।
३७ बर्षको उमेरमा पहिलो पटक ट्रैल रन
जहाँ ईच्छा, त्यहाँ उपाय भन्ने लोकउक्ती जस्तै उनले ३७ बर्षको ढल्कदो उमेरमा पहिलो पटक ट्रैल रनको प्रतियोगितामा डेब्यु गरे। शुरुमा उनलाई ट्रैल रनिङ भन्ने बारे केही थाहा थिएन। छुट्टिको समयमा साथीहरु सङ्ग हाईकिङ जादा बाटोमा 'बिब नम्बर' छातीमा टासेर चिनियाँ तथा गोराहरु दौडेको देख्दा गाउघरमा डाँडाकाँडा, भीर पहरा चाहारेका उनलाई आफू पनि मौका पाए दौड्न सक्ने रहर र आँट पलाउथ्यो। यसरी उनमा पहिलो पटक ट्रैल रनको हुटहुटीको जाग्यो। तर कहाँ र कसरी गर्ने भन्ने कुरामा भने उनलाई केही जानकार थिएन्।
यसै बीच उनले लायन रक डाँडामा 'हामी उठ्ने छौं' भन्ने संस्थाले गरेको हाईकिङको क्रममा उकालो दौड्दा सबैलाई उछिने। त्यो देखेपछि आफ्ना कलेज सहपाठी पत्रकार तथा शिक्षक देवराज राईले उनी माथी पोटेन्सियल देखे। उनैको सुझाव र हौसला पछि उनले सन २०१७ मा पहिलो पटक लान्ताउ आईल्यान्डमा सम्पन्न 'लाम्मा ८' नामक १४ किलोमीटरको दौडमा भाग लिए। उक्त प्रतियोगितामा उनी शीर्ष १० भित्र छिरे। त्यसले उनलाई थप हौसायो।
उनको मनभित्र आत्मबलको भेल चल्यो। त्यसको लगत्तै उनी एमएसआईजीको ५४ किलोमिटरको प्रतियोगितामा भाग लिए। जहाँ उनको मिरा राई सङ्ग भेट भयो। बिना पूर्ण तयारी र प्रशिक्षण उक्त दौडमा भाग लिदा उनले निकै शारिरिक चुनौती खेप्न पर्यो। दौडको क्रममा खुट्टा बाउडिने, साँस बढ्ने लगायतका समस्याहरु झेल्नुपर्यो। तथापी झन्डै ९ घन्टा लगाएर दुरि भने उनले पार गरेरै छाडे।
नतिजा निराशाजनक भए पनि उनले हिम्मत भने हारेनन्। उनले एलिट धावकहरु सङ्ग सम्पर्क राख्दै टिप्सहरु लिए। सन २०१८ मा लान्ताउ मै भएको २७ किलोमिटरको दौडमा 'स्काई च्याम्पियन' को उपाधिबाट नुगोको दिन फिरे।
त्यसपछि पछि फर्कनुपरेन्...
स्काई च्याम्पियन बन्दाको क्षण उनी सम्झना लायक बताउँछन। उनलाई आफू त्यति बेला च्याम्पियन बनेको समेत थाहा थिएन। आयोजकले मिस्टर लिम्बू विजेता बनेको घोषणा गरेपछि आफुलाई खोज्दै आउदा मात्र आफूले जितेको थाहा भएको सुनाउँछन। त्यसपछि भने उनले फर्केर हेर्नुपरेको छैन्। उनले विगत २ बर्षमा छोटो र लामो दुरिका स्काईरन देखि अल्ट्रा ट्रैल रनका करिब ६० प्रतियोगितामा भाग लिई करिब ती दर्जन उपाधि जितिसकेँ।
अहिले उनको कोठा ट्रफी र मेडलले भरिएका छन्। उनले सय माईलका ३ वटा दौड मध्ये १६८ किलोमिटरतर्फ उमेर समुहमा प्रथम समेत भै सकेका छन् भने अन्य दुईमा समेत राम्रो नतिजा निकालेका छन्। गत शनिबार भएको प्रसिद्ध प्रतियोगिता भिभराम हङकङमा सय किलोमिटरको दुरी १३.१३ मिनेटमा छिचोलेर उनले दमदार उपस्थिति प्रमाणित गरिसकेँका छन्। उनी विस्तारै विश्व कै एलिट धावकको रुपमा आफुलाई स्थापित गर्दै लगेको छ।
साधारण बाट सेलिब्रेटी
दुईबर्ष अगाडी आफ्नै साथी सर्कलबाहेक अरुले नचिन्ने नुगोयाम अहिले सेलिब्रेटी भएका छन। प्रतियोगिता स्थलमा उनी सङ्ग सेल्फी खिचाउन चिनियाँ देखि गोराहरुको लर्को लाग्ने गरेको छ। हाईकिङ जादा समेत ओह नुगोयाम! नमस्ते! भन्दै बोलाउँछन र सेल्फी लिन्छन्।
विदेशीहरुले नेपाली भाषामा नमस्ते भनिदिँदा थप आनन्द आउने उनी बताउँछन। कतिले 'तिमी फौजी वाला हैनौ? कहिले नेपाल फर्कन्छौ? कहिले फेरि दौड्न हङकङ आउछौ?' जस्ता प्रश्नहरुको सामना गर्ने गरेको नुगो बताउँछन्। हङकङका चिनियाँ तथा अन्य मिडियाहरुले समेत अन्तर्वार्ता लिन आफू कहाँ आउने र निम्तो दिने गर्दा उनी कुनै सेलिब्रेटी भन्दा कम देखिदैन।
नशानशामा ट्रैल रन
ट्रैल रन निकै साहसिक र खतरापूर्ण खेल भए पनि अब नुगोको जीवनमा यो अभिन्न भएको छ। ट्रैल रन उनको दोस्रो संसार हो, ट्रैल रन गर्दा उनी सबथोक बिर्सेर आनन्द उठाउँछन। शुरुमा परिवारबाट निकै चिन्ता लिने गरे पनि अब भने परिवारको समेत साथ र सहयोग रहेको उनी बताउँछ्न। दौड पछि रिकभर हुन केही दिन लागे पनि उनी भने २-३ दिन भित्रै रिकभर भै अर्को दौडमा भाग लिई हाल्छन। भाग लिए पछि सितिमिती रित्तो हात फर्कदैनन्।
स्वस्थका लागि ट्रैल रन टनिक
उनी भन्छ्न 'स्वस्थ र दीर्घजीवी बन्न ट्रैल वाँक वा रन गर्न जरुरी छ। यसो गर्दा स्वच्छ हावा, प्राकृति सङ्गको घुलमेल, डाँडाकाँडा हरियलीमा विचरण गर्दा अनेकौ स्वस्थलाभ मात्र हैन्, दीर्घरोग समेत निदान हुन्छ। मानसिक स्वस्थलाभ, तनाव, रिस, निराशा आदिको निदान गर्ने ट्रैल रन अचुक औषधी जस्तै हो। मुटु, फोक्सो लाई स्वस्थ राख्न र कृयाशिल बनाउन समेत ट्रैल रनले मद्दत गर्दछ। देश विदेशका मान्छेहरु सङ्गको भेटघाट, अनुभव र प्रेरणाको आदानप्रदान समेत गर्ने उपयुक्त माध्यम हो ट्रैल रन।'
उनका अनुसार आफ्नो सारिरिक क्षमता अनुसार गति बढाउन सकिन्छ, दौड्नैपर्छ भन्ने पनि हुन्न, वाकिङ मात्रै गरे पनि अनेकौ फाईदा हुने नुगोको सुझाव छ।
माउन्ट फुजी र युटिएमबी दौड्ने धोको
जापानमा हुने अल्ट्रा माउन्ट फुजी र फ्रान्समा हुने युटिएमबी दौड्ने नुगोको धोको छ। यी दुबै अल्ट्रा ट्रैल रनका प्रतिष्ठित प्रतियोगिताहरु हुन। तर यसको लागि तयारी र व्यवस्थापन गर्न त्यति सजिलो भने नभएको उनी बताउँछन। यी दुबै प्रतियोगितामा भाग लिन क्वालिफाई हुन जरुरी छ भने खर्चालु समेत उत्तिकै हुने बताउँछ्न।
खर्चालु तथा चुनौतीपूर्ण
हेर्दा सामान्य देखिए पनि ट्रैल रन खर्चालु र चुनौतीपूर्ण रहेको नुगो को अनुभव छ। रनिङको लागि 'गियर' हरु महँगो भएको बताउँदै उनी भन्छन ' खुट्टा जोगाउदा पैसा जाने, पैसा जोगाउदा खुट्टा जाने' उनको भनाई छ।
प्रतियोगिता भाग लिन प्रवेश शुल्क, दौडको लागि सामान किन्न आदि ईत्यादी मा बार्षिक झन्डै २५/३० हजार हङकङ डलर खर्च हुने उनी बताउँछन। फेरि धेरै जसो दौड शनिबार हुने हुँदा छुट्टी लिनुपर्ने हुन्छ, त्यसो गर्दा काममा पनि ज्याला कटौती भएर घाटा सहनु पर्ने बाध्यता हुन्छ। दौडको तीव्रताले उसको शरीरमा गल्ने, टाउको दुख्ने, खुट्टाको औंलामा दुख्ने, चिसो लाग्ने, शरीर बाउडिने, गम्भीर चोटपटक समेत लाग्न सक्ने जस्ता जोखिम हुन्छन्।
प्रायोजन अफर
एक पछि अर्को सफलता हात पार्दै गएपछि नुगोलाई प्रायोजकहरुको पनि प्रस्ताव आउन थालेको छ। ट्रैल रनका लागि गियरहरु उत्पादक ब्लु माउन्टेन, एक्सन पान्डा लगायतका केही कम्पनीहरुले नुगोलाई एम्बासडर बनाएका छन। त्यसका बदला उनलाई रनिङ सम्बन्धी निशुल्क सामानहरु तथा अन्य छुटहरु दिएका छन भने केही कम्पनीले आर्थिकलाभको प्रस्ताव समेत गरेको उनी बताउँछन्।
नेपाली झन्डा फहराउँदै
पर्वतारोहीहरु शिखरमा पुग्दा जुन आनन्द लिन्छन् त्यसैगरि फिनिसिङलाईन छुँदा आफुलाई साच्चिकै आनन्द लाग्ने नुगोको अनुभव छ। त्यतिबेला उनी आफ्नो देश नेपाल सम्झन्छ्न् र त्यसको तलतल मेटाउन उनी फिनिसिङ लाईनमा र ट्रफी मेडल थाप्दा नेपाली झन्डा फहराउँछ्न, यसो गर्दा उनलाई बिछट्टै आनन्द लाग्छ।
उनले ठट्टा गर्दै भन्छन्, 'कति साथीहरुले लिम्बुवान झन्डा फहराउन सुझाव दिन्छन, तर हामी समग्र नेपाली हौं, जहाँ गए पनि नेपाली झन्डा फहराउँनेछु र नेपाली हुनु मै गर्व गर्नेछु, मेरो सफलता सम्पुर्ण नेपालीहरुको सफलता हुनेछ, उक्त खुशी नेपालीहरुबीच बाड्न चाहन्छु। आफ्नो यत्नबाट नेपाल र नेपालीहरुको नाम रोशनी गर्न चाहन्छु।'
सफलताको राज
सफलता खुशीको कुञ्जी होइन। खुशी सफलताको कुञ्जी हो। आफूले जे गरिरहेको क्षेत्र प्रति लगावको साथ लागि परे सफल हुन् सकिने नुगोको भनाई छ। तर त्यसको लागि आत्मबल, मेहनत र अनुशासन आवश्यकता रहेको उनी बताउँछन। उनी यस क्षेत्रमा आउन चाहनेहरुलाई सक्दो साथ र सहयोग गर्ने बताउँछन।
उनी भन्छन 'अल्ट्रा ट्रैल रन एक शानदार खेल हो जसले उमेर,लिङ्ग, जाति तथा अशक्ततालाई देख्दैन। यसले मात्र क्षमता देख्दछ। साथै यो खेलमा सहभागी हुने खेलाडीहरु एलिट र प्रोफेसनल मात्र भाग लिने भन्ने हुदैन। वास्तवमा अधिकांश साधारण व्यक्तिहरू हुन्छन् जुन साहसको भावनाले ओतप्रोत भएका हुन्छन् र दरिलो इच्छाशक्ति बाट डोरिएका हुन्छन"। उनी अहिले ४० बर्ष पुगेका छन।'
तपाईं ३७ बर्षको उमेरबाट यो खेलमा लाग्नु भो, के तपाईंलाई यस्तो पछुतो लाग्दैन कि २७ बर्षको उमेरबाट थालेको भए यती बेला सम्म विश्व च्याम्पियन हुने थिए भन्ने प्रश्नको जवाफमा हाँस्दै भन्छन 'जीवन साँच्चिकै चालीसमा शुरू हुन्छ हगि।'
प्रतिक्रिया