हङकङ निवासी दुई नेपाली बक्सरले व्यावसायिक भिडन्तमा सानदार जित हासिल गरेका छन्। गत शनिबार मकाउमा भएको भिडन्तमा २८ वर्षीय मिलन घलेले ताइवानका प्रतिद्वन्द्वी यिई चेङ सिलाई पहिलो राउन्डमा नक आउट गरी सानदार जित निकालेका हुन्।
त्यसैगरी २४ वर्षीय आशिष गुरुङले ताइवानकै प्रतिद्वन्द्वी गाउबिन लीलाई सर्वसम्मत अङ्कको आधारमा पराजित गरेका हुन्। दुवै नेपाली बक्सरको यो पहिलो व्यावसायिक डेब्यु हो। मिलन बुटवलका स्थायी बासिन्दा हुन् भने आशिष पोखरा निवासी हुन्।
वेल्टर वेट डिभिजनमा भिडन्त गरेका मिलनले आफ्ना प्रतिद्वन्द्वीमाथि सुरुमै आक्रामक ढङ्गले दबाब सिर्जना गरेका थिए। सटिक बक्सिङ संयोजन र उत्कृष्ट गतिशीलतासहित उनले सुरुबाटै भिडन्त आफ्नो नियन्त्रणमा लिए। उनको द्रुत प्रहारले विपक्षीलाई प्रतिक्रियाविहीन बनायो। फलत: उनले पहिलो राउन्डमै नकआउट गरेर दर्शकको वाहवाही पाए।
‘पहिलो भिडन्तमै नकआउट जित कसरी सम्भव भयो?’ नेपालखबरको प्रश्नमा उनको जवाफ थियो, ‘मसँग उच्च आत्मविश्वास थियो। यो भिडन्तको निम्ति उच्च मनोबलसहित कठिन प्रशिक्षण गरेको थिएँ। अहिले मेहनतको फल मिलेको हो। नेपालीको नाम राख्न सकेकोमा अत्यन्त खुसी मिलेको छ।’
आफ्नो टीमका साथ मिलन घले (बीचमा)
मिलनका भाइ निबेश हङकङका ख्यातिप्राप्त बक्सर हुन्। आफ्नै भाइबाट अभिप्रेरित भएर सन् २०१७ बाट बक्सिङ सुरु गरेका मिलन डेफ बक्सिङ क्लबका पूर्णकालीन प्रशिक्षक समेत हुन्।
त्यसैगरी २४ वर्षीय आशिषले सुपर फ्लाइवेटमा भिडन्त गरेका हुन्। उनी अमेच्योर भिडन्तमा दुई पटक हङकङ च्याम्पियन समेत हुन्। उनी शालीन र शान्त ढङ्गबाट भिडन्तमा प्रस्तुत भएका थिए।
उनको शक्तिशाली काउन्टर अट्याकले प्रतिद्वन्द्वीको आक्रमणलाई निस्तेज पारिदियो। फलत: चारै राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत जित निकाले।
‘योङ एन्ड हङ्ग्री’ माइन्डसेट भएका आशिषले युरोपसम्म पुगेर भिडन्त गरिसकेका छन्। अब उनको लक्ष्य व्यावसायिक बक्सिङलाई निरन्तरता दिँदै च्याम्पियन बन्नु रहेको छ। आशिष पनि डेफ बक्सिङ क्लबमा प्रशिक्षकको रूपमा कार्यरत छन्।
प्रतियोगिता मकाउ बक्सिङ हाउसले आयोजना गरेको थियो।
Shares
प्रतिक्रिया