हङकङको एक इस्लामिक सिकाइ केन्द्रमा १३ वर्षीय बालकलाई थप्पड हान्ने ‘शिक्षक’लाई इस्टर्न ल कोर्टले सोमबार जमानतमा छोडेको छ।
यद्यपि भाषा केन्द्रले उनी त्यहाँको शिक्षक नभई स्वयंसेवक मात्र भएको अदालतसामु बताएको छ।
उनलाई हङकङ डलर ५० हजार धरौटीसहित हप्तामा ३ पटक सम्बन्धित अधिकारीसामु उपस्थित हुनुपर्ने गरी छोडिएको हो। उनको अर्को सुनुवाई सेप्टेम्बर २९ मा हुनेछ।
पीडित बालकका परिवारले अगस्ट १० मा प्रहरीमा जाहेरी दिएपछि त्यसको भोलिपल्ट प्रहरीले उनलाई पक्राउ गरेको थियो।
बालकमाथि थप्पड हान्ने व्यक्ति पाकिस्तानी मूलका शाहजाद खान हुन्। अदालतका अनुसार उनीसँग भएका कागजातले हङकङमा बसोबास गर्न पाए पनि काम गर्ने अधिकार दिँदैन।
कुरान पाठका क्रममा बालकलाई थप्पड हानेको आरोप उनीमाथि लागेको थियो।
थप्पडका कारण पीडित बालकको आँखामा चोट लागेको छ। उनलाई दुई पटक शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।
उनको पहिलो शल्यक्रिया भइसकेको छ भने दोस्रो शल्यक्रिया ६ महिनापछि गर्नुपर्नेछ। चोटका कारण उनको आँखाको रेटिनाले स्थान छोडेको आँखा विशेषज्ञले बताएका छन्।
Shares
प्रतिक्रिया