राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही केही दिनअघि हङकङ आए र हङकङका नेपालीहरूसँगको भेटघाटमा व्यस्त रहे।
यसै सिलसिलामा उनी आइतबार ‘समृद्ध नेपाल निर्माणमा युवा राजनीतिज्ञ र प्रवासी नेपालीकाे भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सामेल भए।
कार्यक्रममा हङकङका नेपालीहरूले शाहीमार्फत आफ्ना गुनासो र पीडाहरू पोखेका थिए। विशेषगरी नेपाली महावाणिज्यदूतावासले उचित कन्सुलर सेवा नदिएको, असमान व्यवहार तथा अनावश्यक दु:ख दिएको जस्ता गुनासा बढी सुनिएका थिए ।
त्यसैगरी नेपाल वायुसेवा निगमको काठमाडौं-हङकङ-काठमाडौं उडानमा चर्को भाडा असुलिएको, टिकट बिक्रीमा अनियमितता भएको, नेपालका भन्सार कर्मचारीहरूले दु:ख दिएको जस्ता गुनासा गरेका थिए। साथै, नेपालमा लगानीको वातावरण नभएको भन्दै उनीहरूले दु:खेसो पोखेका थिए।
सहभागीहरूले नेपाल सरकारले हङकङबाट जानेहरूका स-साना सामानमा पनि बढी दु:ख दिने गरेको भन्दै आक्राेश पोखेका थिए।
कार्यक्रमका सहभागी।
शाहीले उक्त समस्याहरू सम्बन्धित निकायमा पुर्याई समाधानको प्रयास गर्ने तथा कुनै कर्मचारी दोषी देखिएमा कारवाही प्रक्रिया थाल्ने आश्वासन दिएका थिए।
शाही हामी नेपाली, हाम्रो नेपाल, हङकङ टीम र प्रवासी नेपाली एकता समाज, हङकङको निमन्त्रणामा हङकङ आएका हुन्। कार्यक्रम हङकङको याउ मा तेइ कम्युनिटी हलमा आइतबार भएको थियो।
कार्यक्रममा नेपालका लागि हङकङका महावाणिज्यदूत उदयबहादुर रानामगर उपस्थित थिएनन्। यसै सन्दर्भलाई जोड्दै शाहीले व्यङ्ग्य पनि कसेका थिए, ‘यो कार्यक्रममा महावाणिज्यदूत उपस्थित हुनुपर्थ्यो, सायद उनी डरले भागे।’
कार्यक्रममा एनआरएनए हङकङ, चेम्बर्स अफ कमर्स हङकङ, हङकङ नेपाली महासंघ जस्ता संस्थाहरूको पनि उपस्थिति थिएन।
कार्यक्रममा सहजकर्ताको भूमिकामा पत्रकार अनोज रोक्काले निभाएका थिए।
शाही सोमबार हङकङबाट मकाउ प्रस्थान गरेका छन्।
Shares
प्रतिक्रिया