बेलायतले हङकङका बीएन(ओ) पासपोर्ट धारकलाई पाँच कार्यदिनमै भिसाको निर्णय दिने नयाँ नीति घोषणा गरेको छ। भिसा निवेदनका लागि लाग्ने शुल्कमा थप पाँच सय पाउण्ड तिरेमा पाँच कार्यदिनमै काम सकिने गरी नयाँ नीति बेलायतले ल्याएको हो। बीएन(ओ) ब्रिटिस नेसनल (ओभरसिज)को छोटकरी रूप हो।
तर, बेलायतको यो निर्णयलाई बेइजिङले ‘पाखण्डपन’को संज्ञा दिएको छ। लन्डनस्थित चिनियाँ दुतावासले पनि चीनको आन्तरिक मामलामाथि हस्तक्षेप भनी विरोध जनाइसकेको छ।
‘भ्रममा परेका हङकङबासीहरू बेलायतमा जीविकोपार्जनका लागि संघर्ष गरिरहेका छन् र यहाँ बस्दा भेदभावको सामना गरिरहेका छन्,’ लन्डनस्थित चिनियाँ दुतावासले मंगलबार भन्यो, ‘हामी बेलायतलाई यथार्थतामा आउन, पाखण्डीपन मञ्चन नगर्न, हङकङका मानिसलाई भ्रमित गर्न बन्द तथा चीनको अन्तरिक मामलामा हस्तक्षेप नगर्न आग्रह गर्दछौँ।’
यद्यपि, बेलायतले भने एक्सप्रेस विकल्पलाई ‘हङकङका जनताप्रतिको अटल प्रतिबद्धता’को निरन्तरता भनेको छ।
साथै, तत्काल यात्राको आवश्यकता भएका बीएन(ओ) पासपोर्ट धारक हङकङबासीलाई फास्ट-ट्य्राक उपलब्ध गराउने पनि ब्रिटिस गृह मामलाले प्रस्ट्याएको छ।
हङकङमा राष्ट्रिय सुरक्षा कानुन घोषणा भएपछि जुलाई २०२० मा युकेले बीएन(ओ) पासपोर्टधारी हङकङबासीलाई ब्रिटिस नागरिकता दिने बाटो खुला गरेको थियो।
३० महिनासम्म बेलायत बस्न चाहने आवेदकले भिसा शुल्क १८० पाउण्ड र पाँच वर्षसम्म बस्न चाहनेले २५० पाउण्ड तिर्नु पर्दछ। यसमा ५०० पाउण्ड थपेमा फास्ट-ट्य्राकबाट काम हुने नयाँ नीति बेलायतले ल्याएको हो।
Shares
प्रतिक्रिया