हङकङमा बेरोजगारी दर घट्दो क्रममा रहेको सरकारी अधिकारीहरूले बताएका छन्।
बिहीबार सार्वजनिक एक तथ्यांक अनुसार गत मे र जुलाईको बीचमा बेरोजगारी दर २.८ प्रतिशतमा झरेको छ।
यो दर आगामी महिनाहरूमा अझै तल झर्ने अधिकारीहरूले विश्वास गरेका छन्।
श्रम सचिव क्रिस सुन युक–हानले आगामी महिनामा श्रम बजार अझ सुदृढ हुने बताए। ‘आर्थिक सुधारसँगै श्रम बजार आगामी महिनाहरूमा अझ सुधार गर्नु पर्छ,’ उनले भने।
सरकारविरोधी आन्दोलन, कोभिड–१९ महामारी जस्ता कारण केही समयदेखि हङकङको अर्थतन्त्र चपेटामा परेको थियो, जुन पछिल्लो समय सुधार हुँदै गएको हो।
पछिल्लो तथ्यांकले हङकङमा झण्डै एक लाख १२ हजार मानिस कामविहीन रहेको देखाएको छ।
त्यस्तै, सरकारले निर्माण, यातायात र उड्डयन क्षेत्रमा देखिएको कामदार अभावलाई पूर्ति गर्न फास्ट ट्रयाकबाट २० हजार कामदार भर्ती गर्ने विशेष योजना पनि अघि सारेको छ।
जसअन्तर्गत पहिलो चरणमा उड्डयन क्षेत्रका २८ कम्पनीका लागि दुई हजार ८४१ निवेदन स्वीकृत भइसकेका छन्।
त्यस्तै, निर्माण तथा यातायात क्षेत्रका लागि तीन हजार ९१० र एक हजार ६ सय निवेदन प्राप्त भएका छन्।
Shares
प्रतिक्रिया