हङकङमा टी८ संकेत लागू, अधिकांश सेवा ठप्प

टाइफुन कोइनु सहरबाट १०० किलोमिटर दूरीमा
हङकङमा टी८ संकेत लागू, अधिकांश सेवा ठप्प

टाइफुन कोइनुका कारण हङकङमा टी८ संकेत जारी भएको छ (तस्बिर : एससीएमपी)


नेपालखबर
असोज २१, २०८० आइतबार ११:२६, हङकङ

हङकङ अब्जर्भेटरीले आइतबार दिउँसो १२:४० बाट सिग्नल नम्बर ८ जारी गरेको छ।

टाइफुन कोइनुको प्रभाव बढ्दै गएपछि अब्जर्भेटरीले टी८ संकेत जारी गरेको हो।

आइतबार बिहान १० बजे टाइफुन कोइनु सहरबाट करिब १०० किलोमिटर (६२ माइल) दक्षिणपूर्वमा आइपुगेको बताइएको छ।

मौसमविद्का अनुसार यतिखेर सहरका धेरै ठाउँमा हावाहुरी चलिरहेको छ। आइतबार दिउँसो हावाको वेग अझै तीव्र हुने र मेघगर्जनसहित वर्षा हुने बताइएको छ।

कोइनुको प्रभाव बढ्दै गएपछि सहर प्रभावित बन्दै गएको छ। शिक्षा ब्युरोले यसअघि नै सबै प्रकारका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने टी८ संकेत जारी भएसँगै उडान र केही सार्वजनिक यातायात सेवा पनि अवरुद्ध भएका छन्। आइतबार कम्तीमा ७० उडान रद्द भएका छन्।

एमटीआर कर्पोरेसनले रेल सेवा चलिरहने बताएको छ। तर, चुनमुन, युनलङ र तिनसुइ वानका बस सेवा भने संकेत जारी भएको तीन घण्टापछि रोकिनेछन्।

सिटीबसले दिउँसो २:४० देखि दिउँसोको सेवा स्थगन गर्ने बताएको छ।

केएमबीले दिउँसो ३ बजे अन्तिम बस छुटेपछि लङविनदेखि एयरपोर्ट रुट लगायत दिनभरका सेवा बन्द गर्ने तयारी गरेको छ।

स्टारफेरीले दिउँसो साढे १ बजेदेखि सेवा बन्द गर्ने बताएको छ भने सनफेरीले काउलुनबाट २:३५ मा नर्थप्वाइन्टका लागि अन्तिम जहाज प्रस्थान गरेपछि बन्द गर्ने बताएको छ।

टी८ संकेत लागू हुने भएपछि बजारमा किनमेलको लागि भीड बढेको थियो। त्यस्तै, मूल्य पनि बढेको कतिपयको गुनासो सुनिन्थ्यो। कम्तीमा ३० प्रतिशतसम्म मूल्य बढेको दुई किलो तरकारी किनेका एक ६० वर्षीयले बताए।

टी८ का कारण हङकङमा रहेका नेपालीको गतिविधि पनि प्रभावित भएको छ। दैनिक जनजीवन त प्रभावित हुने भइहाल्यो आइतबारलाई तोकिएका आधा दर्जन संघसंस्थाका कार्यक्रम समेत स्थगित भएका छन्।

नेपाली आदिवासी जनजाति महासंघ हङकङले आज गर्ने भनेको विशेष महाधिवेशन सूचना जारी गरेरै स्थगित गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .