मगर संघ हङकङले आइतबार (२२ अक्टोबर) विशेष अधिवेशन गरेको छ। एकता अधिवेशन नाम दिइएको यस अधिवेशनबाट याम बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
पछिल्लो (१०औँ) अधिवेशनमा अध्यक्षको उम्मेदवारको योग्यतालाई लिएर विवाद बढेपछि पूर्वउपाध्यक्ष हर्क राना र पूर्व सल्लाहकार हेमराज थापाको नेतृत्वमा संघ दुई समूहमा विभाजित भएको थियो।
मगर संघ हङकङको विधानमा अध्यक्षको उम्मेदवार बन्न कार्यसमिति पदाधिकारी भई एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था भएकोमा हेमराज थापा सल्लाहकार मात्रै रहेकोले उम्मेदवार बन्न अयोग्य भनी उजुरी परेको थियो।
उजुरीउपर कारवाही हुँदा निर्वाचन समितिले विधानत: उम्मेदवारी हुन योग्यता नपुगेको निर्णय सुनाएपछि विवाद बढेको थियो।
विवादका बीच थापा समूहले छुट्टै निर्वाचन गरी अध्यक्ष भएको घोषणा गरेको थियो भने अर्कोतर्फ हर्कप्रसाद राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो।
केही समय एउटै संस्थाको दुई/दुई वटा अध्यक्ष तथा कार्यसमिति रहेको मगर संघमा मिलेर जानुपर्ने आवाज उठेपछि गतवर्ष नेपाल मगर महिला संघकी विदेश सचिव नीता थापा मगरको संयोजकत्वमा एकता संयोजन समिति बनेको थियो।
समितिको करिब एक वर्षसम्मको कसरतले गत जुलाईमा दुवै समूहका अध्यक्षले राजीनामा दिने तथा दुवै कार्यसमिति निस्क्रिय बनाई एकता अधिवेशन गर्ने सहमति जुटाएको थियो।
पुन मगर समाज हङकङका पूर्वअध्यक्ष राजु पुनको संयोजकत्वमा एकता विशेष अधिवेशन गर्ने सहमति त्यतिबेला जुटेको थियो।
त्यही कसरतको परिणामस्वरुप आइतबार मगर संघ हङकङको विशेष एकता महाधिवेशन सम्पन्न भएको हो।
Shares
प्रतिक्रिया