हङकङ प्रहरीले बम बनाउने कच्चा पदार्थ र केमिकलसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद भएको सामग्री ३० केजी रहेको छ।
३३ र ३४ वर्षका दुई पुरुषले अपलेइ चाउ र चाइवानमा रहेको आफ्नो घरमा विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने सामग्री राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
कच्चा पदार्थसँगै पक्राउ परेका दुईजना मध्ये एकजना इलेक्ट्रिसियन र अर्को बेरोजगार रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूसँग राजनीतिक दस्तावेज पनि भेटिएको प्रहरीले बताएको छ। उनीहरू सरकारविरोधी समूहसँग नजिक भएको प्रहरीको अनुमान छ।
साथै उनीहरूसँग इलेक्ट्रोनिक स्केल, डिस्टिलिङ मेसिन, प्रयोगशालाका उपकरण, बम बनाउने जानकारी लेखिएको नोटबुक, फोन र ल्यापटप समेत बरामद भएको छ।
विस्फोटक पदार्थ आइतबारको निर्वाचनसँग जोडिएको कुनै प्रमाण भने नभेटिएको प्रहरीले बताएको छ। आइतबार (१० डिसेम्बर) हङकङमा जिल्ला परिषद्को निर्वाचन हुँदैछ।
गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई वोङचुकस्थित नामफङ रोडबाट पक्राउ गरेको हो। संदिग्धको साथबाट प्रहरीले बन्चरो, चस्मा र हथौडा पनि बरामद गरेको जनाएको छ।
घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले पहाडमा काठको बोर्ड र वाटरप्रुफ कपाडाले ढाकिएको आधा मिटर गहिरो खाडल फेला पारेको छ।
उक्त खाडलमा प्रहरीले करिब एक किलो केमिकल, सिलिन्डरलगायत सामग्री पनि फेला पारेको छ।
संदिग्धहरूलाई विस्फोटक पदार्थ बनाउने र राख्ने मुद्दा लगाउने तयारीमा प्रहरी छ। यसका लागि न्याय विभागसँग कानुनी परामर्श गरिरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखिएको छ। घटनासँग सम्बन्धित थप व्यक्ति पनि पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया