धुम्रपानको दरलाई थप घटाउने उद्देश्यले सुर्तीजन्य पदार्थमा फेरि कर बढाउने तयारी भइरहेको हङकङका स्वास्थ्य सचिव लो चुङ–माउले बताएका छन्।
गतवर्ष पनि हङकङमा सुर्तीजन्य पदार्थमा कर बढाइएको थियो। फेब्रुअरीमा वित्तीय सचिव पल चानले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन्। उक्त बजेटमा पनि सुर्तीजन्य पदार्थको कर बढ्नेतर्फ स्वास्थ्य प्रमुख लोले संकेत गरेका हुन्।
‘विश्व स्वास्थ्य संगठनको तथ्यांक र विश्वव्यापी अनुभवले पनि धुम्रपान कम गर्न सुर्तीजन्य करमा वृद्धि गर्नु प्रभावकारी तरिकामध्ये एक हो। निश्चित रूपमा हामी यसलाई विचार गर्नेछौँ– एक अन्तर्वार्तामा लोले भने,’ एससीएमपीले लेखेको छ।
हङकङमा गतवर्ष चुरोटमा प्रतिखिली ६० हङकङ सेन्ट वृद्धि भएको थियो। जसको कारण २० खिलीको प्याकेटमा १२ हङकङ डलर बढेको थियो।
गतवर्ष यसरी कर बढाएपछि धुम्रपान उन्मुलन हटलाइनमा सोधपुछ गर्नेको संख्या तीन÷चार गुणा बढेकोले मानिसलाई धुम्रपान छोड्न प्रोत्साहित गर्न यो कदम प्रभावकारी भएको लोले थप प्रस्ट्याएका छन्।
हङकङमा हाल धुम्रपानको दर ९.५ प्रतिशत छ। यो दर अर्को वर्षसम्म ७.८ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ।
सहरमा अहिले दैनिक धुम्रपान गर्नेको संख्या लगभग ६ लाख भएको सरकारी आँकडाले देखाउँछ।
हङकङले आफ्नै औषधि नियामक प्रणालीको विकास गर्ने दीर्घकालीन लक्ष्य पनि राखेको छ। यो कुरा प्रमुख कार्यकारी जोन लीको अक्टोबरको नीति सम्बोधन पनि उल्लेख छ।
नयाँ प्रणाली अन्तर्गत गत महिना दुई वटा क्यान्सर औषधि स्वीकृत भएका थिए।
नयाँ प्रणाली विकासको लक्ष्य पूरा गर्न सरकारले सहरका दुई मेडिकल स्कुल, तिनीहरूको क्लिनिकल ट्रायल सेन्टर र अस्पताल प्राधिकरणसँग औषधि नियमनमा जनशक्तिलाई तालिम प्रदान गर्न समन्वय गर्ने स्वास्थ्य सचिव लोले बताएका छन्।
Shares
प्रतिक्रिया