गायक गणेश न्यौपानेको स्वर रहेको गीत ‘आजभोलि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
हङकमा रहेका गायक गायक तथा श्रष्टाहरुको एकपछि अर्को गर्दै म्युजिक भिडियो सार्वजनिक हुने क्रममा गायक न्यौपानेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका न्यौपानेको यो तेस्रो कोशेली हो। आजभोलि बोलको उक्त गीतमा शब्द–संगीत सुरेशकुमार क्षेत्रीको रहेको छ भने एरेन्ज फणिन्द्र राईले गरेका छन्। मिन विष्टको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको म्युजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन्। भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गरेका हुन्।
गीतको भिडियोमा निराजन प्रधान, नीर शाह, शोभित बस्नेत, सपना श्रेष्ठ, , सुप्रिया कटवाल, नग्मा श्रेष्ठ, काव्या कार्की लगायतको अभिनय रहेको छ।
रेस्क्यू क्रिएसनको व्यानरमा निर्माण भएको भिडियोमा अमृता समाल न्यौपानेको लगानी रहेको छ।
भिडियोमा बाबुले साहुको ऋण तिर्न नसक्दा पैसा कमाउन शहर भासिएका एक युवाको कारुणिक बेदना प्रस्तुत गरिएको छ।
गीतको भिडियोको छायाँकन नेपालमै गरिएको छ। म्युजिक भिडियोका लागि हङकङ उत्कृष्ट गन्तव्य हुँदा–हुँदै हङकङमा रहेका गायकहरु नेपालमै जाने गरेका छन्।
भिडियोको छायाँकन हङकङमा नगरी किन नेपाल गएको भन्ने प्रश्नमा गायक न्यौपानेले गीतको भाव र परिवेशलाई चित्रण गर्न नेपाल पुगेको बताए। ‘भिडियोका लागि हङकङ उत्कृष्ट गन्तव्य हो भन्ने कुरामा दुई मत छैन। यहाँ व्यवसायिक प्राविधिक, सामग्री तथा कलाकारहरु पनि छन्’, उनले भने, ‘तथापि गीतको भाव, परिवेशका साथै राष्ट्रप्रेमले पनि नेपाल तिरै तान्छ, यद्यपि हङकङमा समेत म्युजिक भिडियो बन्दै आएको छ। साथै मुलधारमा प्रतिस्पर्धा गर्नका लागि पनि नेपाल रोज्नु पर्ने बाध्यता छ।’
करिब चार लाखको लागतमा निर्माण गरिएको सो भिडियोबाट न्यौपानेले दर्शकको माया पाउने आशा गरेको गायक न्यौपानेले बताए। उनले हरेक वर्षमा कम्तीमा एक म्युजिक भिडियो सार्वजनिक गर्ने योजना रहेको बताए।
हेरौँ भिडियो
प्रतिक्रिया