गैरआवासीय नेपाली संघ (एनआएरएनए) हङकङ युथ फोरमले नेपाली युवालाई हङकङका सरकारी निकायमा जागिरका लागि आकर्षित गर्ने उद्देश्यले भोलि (२१ मार्च) जनचेतना कार्यक्रम गर्ने भएको छ।
हङकङ फायर सर्भिस डिपार्टमेन्ट (एचकेएफएसडी) र युथ डेभलपमेन्ट टिम एचकेएफएसडीको सहकार्यमा एनआरएनए हङकङ युथ फोरमद्वारा आयोजित उक्त कार्यक्रममा हङकङ फायर सर्भिस डिपार्टमेन्ट (अग्नि सेवा विभाग)मा भर्तीबारे जानकारी गराइने कार्यक्रम रहेको एनआरएनए हङकङ युथ फोरमका युवा संयोजक इन्दर पुनले नेपालखबरलाई बताए।
हङकङमा लामो समयदेखि अल्पसंख्यक समुदायको बसोबास रहँदै आएको छ। कुनै दैवी विपत्ति परेको समयमा विभागका कर्मचारी र समुदायबीच एक–अर्काको संस्कृति बुझ्न नसक्दा समस्या देखिँदै आएको संयोजक पुन बताउँछन्।
यस्तै समस्या आउँदा दिनमा नदोहोरिउन् भन्नका लागि विभागमा जागिर खानको लागि नेपाली युवा पुस्तालाई आकर्षित गर्न युथ फोरमले सचेतना कार्यक्रम गर्न लागेको उनी बताउँछन्।
भोलिको कार्यक्रम फायर सर्भिस डिपार्टमेन्टनको जागिरमा कसरी प्रवेश गर्न सकिन्छ, यहाँका सेवा–सुविधा के–कस्ता छन्, यसले हङकङवासी नेपाली समुदाय तथा अन्य समुदायलाई के–कस्तो सकारात्मक असर गर्छ भन्नेबारे केन्द्रित रहनेछ।
भविष्यमा भने हेल्थ केयर, पुलिस डिपार्टमेन्ट जस्ता अन्य सरकारी निकायमा प्रवेशका सम्बन्धमा पनि फोरमले कार्यक्रम गर्दै जाने संयोजक पुन बताउँछन्।
भोलि हुने कार्यक्रममा आफ्ना नानीबाबुलाई समेत लिएर आउन फोरमले आग्रह गरेको छ, जसबाट उनीहरू सरकारी जागिरप्रति आकर्षित होउन्।
कार्यक्रममा पहिलो नेपाली एचकेएफएसडी प्रोबेसनरी स्टेसन अफिसर जोशन सार्की विशेष वक्ताको रूपमा रहनेछन्।
जहाँ उनले आफूले फायर डिपार्टमेन्टमा जागिरका लागि तयारी गर्दा बटुलेको अनुभव, सामना गरेका कठिनाइ तथा सिकेका पाठ सबैसामु साझा गर्नेछन्। जुन कुरा विभागमा जागिर खान चाहने युवालाई मूल्यवान हुन सक्छ।
यसैगरी कार्यक्रममा विभागका तर्फबाट जागिरमा भर्ना हुनका लागि गर्नुपर्ने चरणबद्ध प्रक्रियाका बारेमा अवगत गराइनेछ। यसका साथै, प्रत्येक पदका लागि आवश्यक न्यूनतम योग्यता लगायतका विषयमा कार्यक्रममा विभागले स्पष्ट पार्नेछ।
एनआरएनए हङकङको कार्यालयमा हुने यस कार्यक्रम भोलि बेलुका ७ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया