केटीको भेषमा छात्रा स्कूलको शौचालय छिरेर केटीहरूको फोटो खिचेको आरोपमा एक व्यक्तिलाई हङकङको अदालतले ६ महिना कैद सजाय सुनाएको छ।
विद्यार्थीको गोपनीयतामा गम्भीर आक्रमण गरेको ठहरसहित अदालतले बुधबार ३१ वर्षीय पुरुषलाई उक्त सजाय सुनाएको हो।
ती व्यक्तिलाई गत अक्टोबरमा गाउचि वानस्थित गुड होप स्कुलका दुई छात्राले शौचालयमा लुकी फोटो खिच्ने क्रममा फेला पारेका थिए। गुड होप गर्ल्स स्कुल हो।
घटनाअनुसार १६ अक्टोबर बिहान करिब साढे ९ बजे दुई छात्रा शौचालय प्रयोग गरिरहेको अवस्थामा कसैले कम्पार्टमेन्टबाट फोटो खिचिरहेको भेउ पाए।
त्यसपछि उसलाई पक्रनको लागि बन्द कम्पार्टमेन्ट अगाडि पर्खिएका उनीहरूलाई झुक्याएर ऊ भाग्न सफल भएको थियो।
उनीहरूले त्यो व्यक्तिलाई केटीको भेषमा मेकअपसहित विद्यालयको पोशाकमा देखेका थिए। घटनापछि उनीहरूले विद्यालयमा जानकारी गराए।
विद्यालयले प्रहरीलाई खबर गरेपछि घटना घटेको चार दिनपछि प्रहरीले उसलाई सानपो कङको एक औद्योगिक इकाइबाट पक्राउ गरेको थियो।
पक्राउपछि अधिकारीहरूले सन्दिग्धको घरमा खानतलासी गर्दा विद्यालयको पोशाक, महिलाको अन्डरगार्मेन्ट, विग र मेकअपका सामान फेला पारेका थिए।
अन्ततः काउलुन सिटी अदालतले ३१ वर्षीय उनलाई दोषी ठहर गर्दै आधा वर्षको जेल सजाय सुनाएको छ।
‘अपराध गम्भीर छ। पीडितहरू नाबालिग छन् र विद्यालय उनीहरूको गोपनीयता सुरक्षित हुने आशा गर्ने ठाउँ हो,’ अदालतको आदेशमा भनिएको छ।
Shares
प्रतिक्रिया