हङकङका ६ वटा सार्वजनिक विश्वविद्यालयमध्ये ४ वटा एसियाका उत्कृष्ट शैक्षिक संस्थाको सूचीमा परेका छन्।
बुधबार जारी गरिएको टाइम्स हायर एजुकेसन एसिया युनिभर्सिटी र्याङ्किङमा उक्त नतिजा आएको हो।
र्याकिङ सुरु भएदेखि शीर्ष स्थानमा परेका केही विश्वविद्यालय भने यस पटक शीर्ष १० बाट बाहिरिएका छन्।
यस्तै अन्यको पनि स्थान घटबढ भएको छ। सहरको सबैभन्दा पुरानो हङकङ विश्वविद्यालय (एचकेयू) दुई स्थान झरेर छैटौँमा आइपुगेको छ।
त्यस्तै, चिनियाँ विश्वविद्यालय (सीयूएचके) चार स्थान झरेर १०औँ मा पुगेको छ।
सन् २०१३ देखि सुरु भएको यो र्याङ्किङमा हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी पहिलो पटक शीर्ष १० बाट बाहिरिएर १२औँ पुगेको छ। अघिल्लो पटक यो सातौँ स्थानमा थियो।
शीर्ष १० मा नपरे पनि सिटी युनिभर्सिटी र ब्याप्टिस्ट युनिभर्सिटीले भने यस वर्ष आफ्नो स्थान सुधार गरेका छन्।
सिटी युनिभर्सिटी अघिल्लो पटकभन्दा एक स्थान बढेर १५औँमा पुगेको छ भने ब्याप्टिस्ट १०५औँबाट माथि उक्लेर ६३औँ स्थान सुरक्षित गरेको छ।
हङकङका यी दुई विश्वविद्यालय सहरको र्याङ्किङमा अन्तिममा परेका छन्।
टाइम्स हायर एजुकेसनले यस वर्षको सूचीमा गत वर्षभन्दा थप ७० विश्वविद्यालय समावेश गरेको जनाएको छ। जसमा ३१ देश वा क्षेत्र समेटेर ७३९ संस्था सामेल थिए। गतवर्ष यो संख्या ६६९ रहेको थियो। (एससीएमपीबाट)
Shares
प्रतिक्रिया