हङकङको ग्रेटर बे एयरलाइन्सले सेवा सुरु गरेको दुई हप्तामै सिंगापुरको लागि नियमित उडान बन्द गर्ने घोषणा गरेको छ।
गत फेब्रुअरीमा मात्रै कम्पनीले अप्रिल २६ बाट प्रत्येक दिन एक उडानका साथ सहरमा नयाँ मार्ग सुरु गर्ने घोषणा गरेको थियो।
बजारको पछिल्लो अवस्था मूल्यांकनपश्चात् भने कम्पनी उडान बन्द गर्ने निर्णयमा पुगेको एयरलाइन्सले जनाएको छ।
अब जुन १ देखि सिंगापुरका लागि ग्रेटर बेका नियमित उडान हुने छैनन्।
यसबापत यात्रुलाई पर्न गएको मर्काप्रति भने एयरलाइन्सले माफी मागेको छ। साथै, टिकट बुक गरिसकेका यात्रुको पुनः बुकिङ, रुट परिवर्तन तथा रकम फिर्ताको लागि कम्पनीले सिधै ग्राहकसँग सम्पर्क गर्ने पनि जनाएको छ।
‘यात्रुको सम्भावित प्रभावलाई कम गर्न हामी रि-बुकिङ, रि-रुटिङ तथा रिफन्डको लागि सिधै सम्पर्क गर्नेछौँ,’ कम्पनीले भनेको छ, ‘यसबापतका सबै सम्बन्धित शुल्क पनि माफ गरिनेछ।’
यो अनुभवबाट पाठ सिक्दै आगामी दिनमा व्यवस्थित हुँदै जाने पनि कम्पनीले जनाएको छ।
‘हामी अनुभवबाट सिक्नेछौँ,’ कम्पनीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ, ‘नयाँ र सम्भावित गन्तव्यहरूको अन्वेषण, चलिरहेका रुटमा सेवा विस्तार, चार्टर व्यवसाय आदिका लागि ट्राभल एजेन्सीसँग सहकार्य गर्ने प्रयास गर्नेछौँ।’
अब यात्रुहरूले सिंगापुरका लागि मे महिनाको लागि मात्र प्रतिटिकट हङकङ डलर ६ सय ४० देखि ९ सय ६० (कर बाहेक) मूल्यका टिकट बुक गर्न सक्नेछन्।
Shares
प्रतिक्रिया