हङकङमा केएमबीले भित्र्यायो विश्वकै ठूलो निर्माता अलेक्जेन्डरको पहिलो विद्युतीय बस

हङकङमा केएमबीले भित्र्यायो विश्वकै ठूलो निर्माता अलेक्जेन्डरको पहिलो विद्युतीय बस

केएमबीको पहिलो विद्युतीय डबल डेकर बस नर्थ पोइन्ट-चेङसा वानको रुटमा (एससीएमपी)


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:४४, हङकङ

विश्वकै ठूलो डबर डेकर बस निर्माता कम्पनी अलेक्जेन्डर डेनिसको विद्युतीय बसको सेवा हङकङमा सर्वप्रथम काउलुन मोटर बस (केएमबी)ले सुरुआत गरेको छ।

केएमबीले यो बसको सेवा शनिबारबाट सुरु गरेको हो।

केएमबीले अलेक्जेन्डरसँग १० Enviro500EV बस खरिद गरेको छ जसमध्ये दुई वटाले नर्थ पोइन्टदेखि चेङसा वानसम्मको ११२ बस लाइनमा सेवा सुरु गरेका छन्।

बेलायतमा निर्मित यस विद्युतीय बसले १२२ यात्रु बोक्ने क्षमता राख्दछ भने दुई घण्टा चार्ज गरेपछि ३५० किलोमिटरको दूरी तय गर्न सक्छ।

अपरेटरले जानकारी दिएअनुसार केएमबीका लागि यो दैनिक सञ्चालन आवश्यकताको ८० प्रतिशतभन्दा बढी पर्याप्त हो।

बेलायती कम्पनी अलेक्जेन्डरले हङकङका लागि लगभग चार हजार पाँच सय डबल डेकर बस उत्पादन गरेको जनाएको छ, जुन अहिले सहरमा सञ्चालित संख्याको दुई तिहाइ बढी हो।

अलेक्जेन्डरको एसिया प्यासिफिक क्षेत्रका प्रबन्ध निर्देशक एन्डी बोल्टनका अनुसार सन् २०५० भित्र सहरलाई शून्य सवारी साधन उत्सर्जन गर्ने हङकङ सरकारको लक्ष्यअनुसार विद्युतीय बस विकास गर्न कम्पनी केन्द्रित रहेको छ।

‘हामी यहाँ विद्युतीय बसलाई भविष्यको रूपमा हेर्छौँ,’ बोल्टनले एक अन्तर्वार्तामा भनेका छन्, ‘किनकि हङकङमा प्रशस्त विद्युत् आपूर्ति छ।’

कम्पनीको ध्यान विद्युतीय बसको विकासमै केन्द्रित रहेको पनि उनले बताएका छन्।

‘प्रत्येक लिटर डिजेल जल्दा लगभग २.६५ किलोग्राम कार्बन डाइअक्साइड उत्पादन हुन्छ,’ ‘विद्युतीय सवारीसाधनको प्रयोग गर्दा हङकङको सडकमा हावाको गुणस्तर सुधार्न मद्दत गर्नेछ,’ बोल्टन थप्छन्।

तर, विद्युतीय बसको भाडा डिजेलबाट चल्ने बसको भन्दा बढी हुन्छ। यस्तो बसको भाडा त्यस बराबरको डिजेल बसभन्दा ६० प्रतिशतसम्म बढी हुनसक्ने बेल्टन बताउँछन्।

केएमबीले पनि डिजेल बसभन्दा विद्युतीय बस सञ्चालन महँगो पर्न जाने बताएको छ।

हाल डिजेलभन्दा बिजुली सस्तो भए तापनि चार्जिङ, मर्मतसम्भार, मेकानिकल तालिम, ब्याट्री प्रतिस्थापन जस्ता लागतले विद्युतीय बस सञ्चालन महँगो व्यवसाय भएको केएमबीका प्रवक्ताले बताए।

यद्यपि, केएमबीले सन् २०४० सम्म आफ्नो सेवालाई विद्युतीय बसमा स्तरवृद्धि गर्ने लक्ष्य राखेको छ। शताब्दीको मध्य अघिसम्म सवारीसाधनबाट शून्य उत्सर्जन गर्ने सरकारको लक्ष्यअनुरुप कम्पनी अघि बढेको उनले बताए।

त्यस्तै, अलेक्जेन्डरले हङकङमा ब्याट्रीबाट चल्ने अन्य प्रकारका गाडी पनि ल्याउने योजना बनाएको जानकारी दिएको छ।

‘यस वर्षपघि हामी हङकङमा Enviro100EV लन्च गर्नेछौँ- हाम्रो सबैभन्दा छोटो र सबैभन्दा सानो सिंगल डेकर,’ बेल्टनले भने।

यो हाल हङकङमा सञ्चालित हरियो मिनिबसभन्दा अलि ठूलो हुने र २८ जना यात्रुसम्म बस्न मिल्ने हुने उनले बताए।

बोल्टनका अनुसार, अलेक्जेन्डरले जुहाइ ग्वाङतोङ भेहिकल म्यानुफ्याक्चररसँग सब–कन्ट्र्याक्टिङ साझेदारीमार्फत जुहाइमा इलेक्ट्रिक बसको प्रोटोटाइप निर्माण गरिरहेको छ, जुन अक्टोबरमा हङकङ आइपुग्नेछ।

‘जुहाइमा निर्माण गर्दा लागत कम गर्न मद्दत गर्छ,’ बोल्टन भन्छन्, ‘यद्यपि, महत्त्वपूर्ण चेसिस कम्पोनेन्ट युरोपबाट पठाइन्छ, त्यसले गर्दा समग्र लागत भने अझै पनि चीनबाट आपूर्ति गरिएको बसभन्दा महँगो हुन्छ।’ (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .