हङकङको चुनमुनमा रहेको एक विद्यालयका छात्र छुरा प्रहारबाट घाइते भएका छन्। उनलाई आफ्नै सहपाठीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो पौने चार बजे कक्षामा बसिरहेको अवस्थामा सामान्य वादविवाद हुँदा एक बालिकाले फलफुल काट्ने चक्कुले प्रहार गरेकी हुन्।
छुरा प्रहार गर्ने १३ वर्षीया बालिकालाई प्रहरीले पक्राउ गरेको छ।
घाइते बालकको दाहिने काँध, पछाडि र पाखुरामा चोट लागेको छ। उनलाई पीडकले ३० सेन्टिमिटर लामो चक्कुले प्रहार गरेकी थिइन्।
स्रोतले पुष्टि गरेअनुसार उनीहरू सीसीसी होफक तङ कलेजमा अध्ययनरत विद्यार्थी रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
घटनापछि प्रहरीलाई खबर गरिएको थियो। पीडित बालकलाई चुनमुन अस्पताल लगिएकोमा उनको अवस्था स्थिर रहेको बुझिएको छ।
शिक्षा ब्युरोले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै जानकारीको लागि तुरुन्त विद्यालयमा सम्पर्क गरेको बताएको छ।
Shares
प्रतिक्रिया