हङकङमा घरेलु कामदारको मासिक ज्याला ६३ सय डलर गर्न माग

सरकारका प्रतिनिधिलाई भेटेर पक्षधर संस्थाले भने- खाना भत्ता पनि २७ सय डलर पुर्‍याऊ
हङकङमा घरेलु कामदारको मासिक ज्याला ६३ सय डलर गर्न माग

श्रम विभागको मुख्यालयमा बुधबार सहायक आयुक्त ड्र्यु लाई (बीच)सँग एफएडीडब्लूयूका प्रतिनिधि (तस्बिर : एफएडीडब्लूयू)


नेपालखबर
साउन १८, २०८१ शुक्रबार १३:३४, हङकङ

आप्रवासी घरेलु कामदारहरूको अधिकारका पक्षधर संस्थाले श्रमिकको मासिक तलब ६ हजार तीन सय हङकङ डलर र खाना भत्ता दुई हजार सात सय हङकङ डलर पुर्‍याउनुपर्ने माग गरेका छन्।

हाल घरेलु कामदारहरूको मासिक तलब चार हजार आठ सय ७० र खाना भत्ता एक हजार दुई सय ३६ हङकङ डलर छ।

हङकङ सरकारका प्रतिनिधिसँग बुधबार भेटेर पक्षधहररूले ज्याला वृद्धिको माग राखेका हुन्।

‘घरेलु कामदारको न्यूनतम मासिक तलब हाल हङकङ डलर चार हजार आठ सय ७० छ,’ फेडेरेसन अफ एसियन डोमेस्टिक वर्कर्स युनियनले भन्यो, ‘घरेलु कामदारको ज्याला र समाजमा उनीहरूको योगदानबीचको असमानता स्पष्ट छ।’

हङकङ फेडेरेसन अफ एसियन डोमेस्टिक वर्कर्स युनियन (एफएडीडब्लूयू)का साथै अन्य आप्रवासी समूह र गैरसरकारी संस्थाका प्रतिनिधिले बुधबार सेन्ट्रलस्थित श्रम विभागको मुख्यालयको भ्रमण गरेका थिए।

यसै क्रममा नीति प्रवर्द्धन हेर्ने विभागका सहायक आयुक्त ड्र्यु लाईको नेतृत्वमा रहेको सात जना अधिकारीको टोलीलाई भेटेर पक्षधरहरूले ज्याला बढाउनुपर्ने माग राखेका हुन्।

आप्रवासी घरेलु कामदारहरूको अघिकार संगठनहरूले कम्तीमा ६ हजार हङकङ डलर ज्याला र दुई हजार खाना भत्ताको आह्वान गर्दै आइरहेका छन्।

‘हङकङ अर्थतन्त्रमा घरेलु कामदारले ३.६ प्रतिशत योगदान पुर्‍याएका छन्,’ आप्रवासी घरेलु कामदारहरूको आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्ने परोपकारी संस्था एनरिचले सन् २०१९ मा प्रकाशन गरेको अनुसन्धानलाई उद्धृत गर्दै एफएडीडब्लूयूद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय महिला कार्यशक्तिको ३० प्रतिशतलाई अनुमति दिइएको छ। तर, ज्याला भने प्रतिघण्टा ६.७ हङकङ डलर बराबर भुक्तान गरियो जबकि सहरको न्यूनतम ज्याला ४० हङकङ डलर हो।’

यस्तै, प्रोग्रेसिभ लेबर युनियन अफ डोमेस्टिक वर्कर्स इन हङकङ (पीएलयू)का सदस्य वेङको भनाइ छ, ‘हङकङमा मुद्रास्फीति बढ्दै गएको छ। त्यसकारण अहिलेको तलब वास्तवमै पर्याप्त छैन।’ पीएलयू पनि एफएडीडब्लूयूकै हिस्सा हो।

सरकारले सेप्टेम्बरको अन्त्य वा अक्टोबरको सुरुमा आप्रवासी घरेलु कामदारको न्यूनतम मासिक तलबमा परिमार्जन गर्ने अपेक्षा पक्षधर संस्थाले गरेका छन्। (एचकेएफपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .