हङकङ : अझै भेटिएनन् गएराति मङककमा चक्कु प्रहार गरी भाग्नेहरू

हङकङ : अझै भेटिएनन् गएराति मङककमा चक्कु प्रहार गरी भाग्नेहरू

मास्क लगाएका आक्रमणकारीले २ जनालाई चक्कु प्रहार गरी भागेका थिए (ह्यान्डआउट)


नेपालखबर
साउन २३, २०८१ बुधबार १५:८, हङकङ

मंगलबार राति हङकङको मङककमा दुई पुरुषमाथि चक्कु प्रहार गर्ने व्यक्ति अझै फेला परेका छैनन्।

हिजो राति सवा ११ बजे मुख्यभूमि चीनबाट आएका एक यात्रु र अर्का एक वृद्धलाई चक्कु प्रहार गरी भागेका तीन जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा टोपी र कालो मास्क लगाएका तीन व्यक्ति चक्कुसहित कारबाट झरेर दुई व्यक्तिलाई आक्रमण गरी भागेको देखिन्छ।

घटनासँग परिचित एक स्रोतले दिएको जानकारीअनुसार पीडितहरूमध्ये एक जना ६६ वर्षीय पुरुष हुन् भने अर्का ३६ वर्षीय युवा मुख्यभूमिबाट आएका आगन्तुक हुन्।

‘अन्य तीन साथीसँग रातिको खाना खाएपछि पीडितहरू सांघाई स्ट्रिटमा हिँडिरहेका थिए। त्यही बेला उनीहरूलाई आक्रमण भएको हो,’ स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

आक्रमणकारीहरू चक्कु प्रहारपछि पुनः कार चढी डुन्डास स्ट्रिटतर्फ लागेका थिए।

आक्रमणबाट ६६ वर्षीया पुरुषको देब्रे कान, घाँटी, छाती, देब्रे हात र दुवै काँधमा चोट लागेको छ भने मुख्यभूमिबाट आएका युवाको अनुहारको देब्रे भाग, हात र घुँडामा चोट लागेको छ।

आक्रमणपछि घाइतेहरूलाई अन्य साथीले याउमा तेइस्थित क्वोङ वाह अस्पतालमा लगेका थिए।

आक्रमणकारीहरू अहिलेसम्म फेला पर्न सकेका छैनन्। उनीहरू भाग्न सक्ने सम्भावित मार्गमा ‘रोडब्लक’ गरी खोजी कार्य जारी रहेको भए पनि हालसम्म कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ।

सीसीटीभी क्यामेराको सहायतामा समेत खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .