बुधबार २४ जना कोरोना संक्रमित भेटिएकामध्ये अधिकाँश भर्खरै विदेशबाट फर्किएका व्यक्ति भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
२४ मध्ये १९ व्यक्ति हालै विदेशबाट फर्किएका थिए। हङकङमा संक्रमितको संख्या बढ्दै जाँदा हालसम्म यहाँ कोरोनाका कारण चार जनाको मृत्यु भएको छ।
विदेशबाट हङकङ आएका मानिसमा बढी कोरोना भाइरस देखिएको खबरहरु सार्वजनिक भएसँगै बुधबार मध्यरातदेखि हङकङ सरकारले हङकङमा विदेशी पर्यटकलाई प्रतिबन्ध लगाउने भएको छ।
सोमबार मात्र सरकारले यस्तो घोषणा गरेको थियो। तर घोषणा गरेकै दिन हङकङमा ८५५ विदेशी पर्यटक र ७३ हङकङ नागरिक हङकङ भित्रिएका थिए।
गत मार्च १९ देखि २३ सम्मको तथ्यांक हेर्दा दैनिक ६ सय विदेशी पर्यटक र ३५ हङकङ नागरिक हङकङ भित्रिने गरेका थिए।
यसबीचमा विदेशबाट आएका पर्यटक र विदेशबाट फर्किएका हङकङका नागरिकमै बढी कोरोनाको संक्रमण देखिएको थियो।
हङकङमा गत हप्तादेखि नै विदेशबाट हङकङ फर्किएका मानिसले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम लागु भएको छ।
कोरोना नियन्त्रणको उपायस्वरुप यस्तो कार्य अबलम्ब गरिएको हो। यस्तै क्वारेन्टिनमा बस्ने सबैलाई डिजिटल रिस्टब्यान्ड ‘हातेफिता’ लगाउन भनिएको छ।
उक्त हातेफिताले क्वारेन्टिनमा बस्नेको निगरानी गर्न सघाउ पुर्याउनेछ।
प्रतिक्रिया