हङकङस्थित नेपाली महावाणिज्य दूत (कन्सुलेट जनरल)ले हङकङ र मकाउमा रहने सम्पूर्ण नेपाली तथा नेपालीमूलका गैरनेपालीहरुलाई व्यक्तिगत विवरण दर्ता गराउन अपिल गरेका छन्।
दूतावासले आफ्नो फेसबुक पेजमार्फत कोरोना भाइरस (कोभिड १९) महामारीले समुदायको जनजीवनमा कठिनाई र विपदको अवस्था सिर्जना भइरहेको बताउँदै विषम परिस्थितिमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउन समेत अनुरोध गरेको छ।
विपद्को समयमा नेपालीबीच सहज सम्पर्क तथा सम्बन्ध स्थापना गर्नका लागि नेपालीहरुको वास्तविक तथ्यांक संकलन गर्न आवश्यक भएको बताउँदै महावाणिज्य दूतावास हङकङले सम्पूर्ण नेपालीहरुको विवरण अनलाइनमार्फत दर्ता गर्ने प्रबन्ध गरेको हो।
‘हङकङ तथा मकाउमा रहेका नेपाली तथा नेपालीमूलका गैर नेपालीहरुको वस्तुस्थिति र वास्तविकता बुझ्न तथा दूतावास र समुदायबीच सम्बन्ध र संवाद स्थापना गर्न उक्त कदम चालिएको हो’, नेपालखबरसँग कुरा गर्दै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले भने, ‘हामीले सामान्य विवरण मात्र मागेका छौँ, यो प्रक्रिया अन्य विभिन्न देशहरुमा पनि प्रचलनमा छ, यसरी तथ्यांक संकलन गरेपछि यसको दुरुपयोग नगरी उद्देश्यमुलक ढंगले उपयोग गर्न सकिन्छ।’
तथ्यांक संकलन सरकार र जनता दुबैलाई हितकर हुने उनले जानकारी दिए।
हङकङ तथा मकाउमा रहेका नेपालीहरु तथा हाल विदेशी नागरिकता लिई सकेका नेपालीमूलका गैरनेपालीहरु नेपाली महावाणिज्य दूतावास हङकङको वेवसाइट आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सकिने जनाएइको छ।
कसरी अनलाइन दर्ता गर्ने?
–सबैभन्दा पहिलो महावाणिज्य दूतावासको https://hkg.nepalconsulate.gov.np/ टाइप गरी प्रवेश गर्ने।
–साइट खोलेपछि दूतावासको सूचना डिस्प्ले हुन्छ, त्यसलाई क्लोज गर्ने।
–त्यसपछि साइटको माथिल्लो भागमा निलो अक्षरमा इमरजेन्सी रजिस्टेसन (Emergency Registration) भन्ने डिस्प्ले हुनेछ, त्यसलाई क्लिक गर्ने।
–ततपश्चात् व्यक्तिगत विवरण भर्नुपर्ने फाराम उपलब्ध हुनेछ, त्यही अनुसार भरेर सवमिट (submit) मा क्लिक गर्ने। यसो गरेपछि तपाईंको विवरण सम्बन्धित निकायमा पुग्दछ।
प्रतिक्रिया