हङकङमा आइतबार तीन नयाँ कोराना संक्रमित भेटिएका छन्। सबै नयाँ संक्रमितहरु विदेशबाट फर्किएका मानिसहरु भएको एससीएमपीले जनाएको छ।
बेलायतबाट फर्किएकी ६९ वर्षकी महिला र पाकिस्तानबाट फर्किएका ५४ र ५७ वर्षका दुई पुरुषमा कोरोनाको संक्रमण देखिएको हो।
शनिबार मात्र हङकङ फर्किएका यिनीहरुमा कोरोनाको कुनै लक्षण देखिएको थिएन।
यससँगै हङकङमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ४७ पुगेको छ। यीमध्ये चारको मृत्यु भएको छ भने ९ सय ८२ उपचारपछि स्वस्थ बनेका छन्।
हङकङमा स्थानीयबाट स्थानीयमा हुने संक्रमण नदेखिएको लगातार २१ दिन पुगिसकेको पनि जनाइएको छ।
यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाखभन्दा बढी पुगेको छ।
आइतबारसम्म ४१ लाख १९ सय ७५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये हालसम्म २ लाख ८० हजार ४५१ जनाको मृत्यु भएको छ भने १४ लाख ४१ हजार ८७३ उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। अमेरिकामा १३ लाख ४७ हजारमा कोरोना देखिएको छ। संक्रमितमध्ये ८० हजारको मृत्यु भइसक्दा २ लाख ३८ हजार उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म पनि कोरोनाको खोप र औषधि बन्न सकेको छैन। अैषधि र खोपहरु परीक्षणकालमै छन्।
खोप र औषधि नबनिन्जेल सरसफाइमा ध्यान दिने, दोहोर्याउँदै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा निमोनिया भएका बिरामीको नजिक नजाने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्ने, भीडभाडमा नबस्ने जस्ता उपाय अपनाए कोरोनाबाट बच्न सकिने विज्ञ बताउँछन्।
प्रतिक्रिया