बेइजिङद्वारा प्रस्तावित सुरक्षा कानुनले राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंशमा प्रतिबन्ध लगाउनेछ।
प्रस्तावित कानुनअनुसार हङकङमा चीन विरोधी गतिविधि गर्न पाइनेछैन।
चीनको नेसनल पिपुल्स कँग्रेस एनपीसीमा हङकङका लागि प्रस्तावित सुरक्षा कानुन पारित भएपछि अब हङकङले पाउँदै आएको स्वायत्तता गुम्ने खतरा भएको विश्लेषण हुन थालेको छ।
एससीएमपीका अनुसार चीनले अब आफ्नो सुरक्षा एजेन्सी हङकङमा पहिलोपटक स्थापित गर्न सक्नेछ।
हङकङ सुरक्षा कानुनले त्यहाँको आधारभूत कानुनलाई बदल्नेछ। एपीका अनुसार अब हङकङले कुनैपनि निर्णय गर्दा चीनसँग परामर्श गर्नुपर्नेछ।
उक्त कानुन चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटिमा पठाइएको छ। आगामी अगष्ट महिनामा नयाँ कानुनले वैधानिकता पाउनेछ।
तर यस कानुनविरुद्ध हङकङमा प्रदर्शन सुरु भइसकेको छ। हिजो नयाँ कानुनविरुद्ध प्रदर्शनमा उत्रिएका झन्डै २ सयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यहाँका नागरिकले हङकङबासीको स्वतन्त्रता गुम्ने खतरा भएको बताइरहेका छन्। केहीदिन अगाडि मात्र प्रमुख कार्यकारी क्यारी लामले नयाँ कानुनले हङकङको स्वतन्त्रता नगुम्नेमा ढुक्क हुन आग्रह गरेकी थिइन्।
उनले नयाँ कानुनले अपराध र आतंकवाद नियन्त्रण हुने उल्लेख गरेकी थिइन्।
अमेरिकाले बुधबारमात्र हङकङ चीनबाट स्वतन्त्र हुन नसकेको भन्दै आफूले हङकङलाई स्वतन्त्र क्षेत्र नठान्ने बताएको थियो।
अमेरिकाले हङकङमा आर्थिक गतिविधि रोक्ने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया