लकडाउनका कारण निकै दिन नेपालमै रोकिएका हङकङवासी नेपालीमध्ये ५ सय ८५ जना मंगलबार बिहानै यहाँ आइपुगेका छन्।
नेपाल वायु सेवा निगमका दुई हवाईजहाजबाट उनीहरू मंगलबार बिहान ३:३० बजे हङकङ विमानस्थल उत्रिएका हुन्।
हार्भेस्ट मुन ट्राभलले चार्टर गरेको न्यारोबडीबाट ३ सय ८ र हङकङ नेपाली ट्राभल एजेन्ट कम्युनिटीले व्यवस्था गरेको वाइडबडीबाट २ सय ७७ गैरआवासीय नेपाली हङकङ आइपुगेका हुन्।
विमानस्थल उत्रेलगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दै स्वाबको नमुना लिएपछि उनीहरूलाई १४ दिनका लागि फो तानस्थित चुङ युएन एस्टेट क्वारेन्टिन केन्द्रमा पठाइएको छ।
हार्भेस्ट मुनको न्यारो बडीबाट आउनेहरूले प्रतिव्यक्ति झन्डै ८५ हजार नेपाली रुपैयाँ तथा वाइडबडीबाट आउनेहरूले १-१ लाख रुपैयाँ भाडा तिरेका थिए।
हङकङस्थित नेपाली महावाणिज्यदूतावासका अनुसार हङकङ सरकार र नेपाल सरकारबीचको समन्वयमा नेपालबाट हङकङवासी नेपालीलाई फिर्ता ल्याइएको हो।
क्वारेन्टिन केन्द्रमा पहिलो दिन बिताइरहेका उनीहरूले बसाइ सुविधायुक्त रहेको प्रतिक्रिया दिएका छन्। टिभी, वाइफाई, खाना तथा खाजा सबै निःशुल्क उपलब्ध गराइएको छ।
सुविधाजनक क्वारेन्टिन व्यवस्था गरेकामा खुसी हुँदै एक महिलाले हङकङ सरकारलाई धन्यवाद दिएकी छन्।
तर क्वारेन्टिन केन्द्रको १०औं तलामा बसेकी अर्की महिलाले भने व्यवस्था त्यति राम्रो नरहेको गुनासो गरेकी छन्। गर्मीका बेला एसीसमेत नभएकाले उल्टै बिरामी हुने हो कि भन्ने चिन्ता भएको उनले बताइन्।
‘जसरी भए पनि १४ दिन कटाउनु छ, पाकिस्तानीहरू यहींबाट बिरामी भएर निस्केका थिए, तर नेपालीलाई त्यस्तो नहोस् भन्ने कामना गर्छु,’ उनले भनिन्।
हङकङ नेपाली ट्राभल एजेन्ट कम्युनिटीका प्रवक्ता रत्न काफ्लेकाका अनुसार लकडाउनका कारण नेपालमा झन्डै २ हजार हङकङवासी नेपाली रोकिएको अनुमान छ।
हार्भेस्ट मुनका तर्फबाट उनीहरूलाई फर्काउने व्यवस्था मिलाइरहेकी एनआरएनए हङकङकी ध्यक्ष टीका (राधिका) गुरुङका अनुसार फेरि आगामी ४ र ५ तारिख २-२ वटा फ्लाइट हुनेछन्।
यस्तै कम्युनिटिका तर्फबाट आगामी ६ र ९ तारिखमा दुई वाइडबडीको उडान हुने इन्दर पुनले नेपालखबरलाई जानकारी दिइन्।
प्रतिक्रिया