बुधबार हङकङमा बेलायती शासन अन्त्य भएको र स्वतन्त्रता स्थापना भएको २३ वर्ष पुरा भएको छ। यसबीचमा प्रदर्शनकारी नयाँ सुरक्षा कानुनको विरोधमा सडकमा उत्रिएका थिए।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सुरक्षा कानुनको विरोधमा उत्रिएका १ सय ८० जनालाई गिरफ्तार गरिएको छ।
प्रदर्शनकारीले बुधबार स्वतन्त्र हङकङको नारा लगाउँदै, स्वतन्त्रता समर्थक झण्डा बोकेका थिए। उनीहरुले सुरक्षा कानुनले हङकङको स्वतन्त्रता खोसिएको बताएका छन्।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पेपर स्प्रे तथा रबरका गोली प्रयोग गरेका थिए।
प्रदर्शनकारीले सडकमा इटाहरु राखेर अवरोध सृजना गरेका थिए भने विभिन्न सडकमा आगो बालेका थिए।
हङकङको नयाँ कानुनमा हङकङ अलग पार्ने, तोडफोड, आतंकवाद र विदेशी सेनाको सहयोगमा राष्ट्रिय सुरक्षालाई जोखिममा पुर्याउन प्रतिबन्ध लगाइएको छ। यसो गरे अपराध मानिने र हदैसम्मको दण्ड सजाय हुने उल्लेख छ।
चिनियाँ कम्युनिस्ट पार्टिका नेताहरुले कानुन उल्लंघन गर्नेलाई आजीवन जेल सजाय हुनसक्ने बताएका छन्।
सन् १९९७ मा बेलायतले चीनलाई हङ्कङ हस्तान्तरण गर्दा भएको एउटा विशेष सम्झौताअनुसार त्यहाँका नागरिकलाई मुख्य भूमि चीनमा उपलब्ध नभएका अभिव्यक्ति स्वतन्त्राजस्ता अधिकारहरू कम्तीमा ५० वर्षका लागि सुनिश्चित गरिएको थियो।
नयाँ कानुनले स्वतन्त्रता खोसेको भन्दै हङकङबासी आक्रोशित बनेका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनले ५० वर्ष स्वतन्त्रता दिने वाचा गरेको भए पनि जम्मा २३ वर्ष मात्र दिएको टिप्पणी गरेका छन्।
प्रतिक्रिया