पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा फेरि १२ नेपाली पक्राउ, थप दुई सय तानिने खतरा

पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा फेरि १२ नेपाली पक्राउ, थप दुई सय तानिने खतरा

नेपालखबर
असोज १४, २०७७ बुधबार ८:५७,

मकाउमा एक बालिकाको पोर्न भिडियो सेयर गरेको आरोपमा फेरि १२ जना नेपाली पक्राउ परेका छन्।

सोमबार काम गरिरहेको होटल र कोठा–कोठा पुगेर उनीहरूलाई पक्राउ गरेको र बयान लिएर तारेखमा छाडेको प्रहरी अधिकारीले जनाएका छन्।

पुरुषले एक बालिकासँग यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्ड लामो भिडियो आफ्ना साथी र अरुलाई पनि फेशबुक म्यासेन्जरबाट सेयर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

बालिकाको यौन भिडियो सेयर गरेको आरोपमा मकाउमा नेपाली पक्राउ परेको यो तेस्रो पटक हो। एक महिनाअघि भदौमा यही आरोपमा पक्राउ परेका ११ जना अझै तारेख धाइरहेका छन् भने छुट्टै पक्राउ परेका दुई जना पनि कानुनी कारबाहीको दायरामा छन्।

भदौमा पक्राउ परेका ११ जनालाई चार दिन थुनामा राखेर छोडिएको थियो। अहिलेसम्म यो आरोपमा पक्राउ परेका २५ जना सबै २१ देखि ४७ वर्ष उमेरका छन्।

एसियाकै ठूलो क्यासिनो र मनोरन्जन केन्द्र मकाउ यौन गतिविधिका मामिलामा तुलनात्मक रुपमा खुला भएपनि बालबालिकासँग सम्बन्धित यौन क्रियाकलापको विषयमा यहाँको कानुन निकै कडा छ।

‘अहिलेसम्म पक्राउ परेकालाई बयान लिएर तारेख धाउनु पर्ने गरी छाडिएको छ, उनीहरूले मकाउ छोड्न पनि पाउँदैनन्’, मकाउमा रहेका एक जना नेपाली सामाजिक कार्यकर्ताले भने।

मुद्दा लड्नु पर्यो भने एक जनाकै पाँच सात लाख खर्च हुने अवस्था रहेको बताउँदै उनले थपे, ‘बालबालिकाको यौन क्रियाकलाप सम्बन्धमा मकाउको कानुन कडा भएकाले मुद्दा हारेको अवस्थामा तीन वर्षसम्म जेल सजाय हुनसक्छ भनेर कानुन व्यवसायीले भनेका छन्।’

पक्राउ परेका २५ जना नेपाली प्रायः मकाउका होटल क्यासिनोमा काम गर्ने सुरक्षा गार्ड हुन्। तर यस्तो आरोपमा होटलबाटै पक्राउ परेर तारेखमा छुटेपनि उनीहरूको जागिर यथावत नै चलिरहेको छ। चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा करिब चार हजार नेपाली कार्यरत छन्।

पक्राउ परेकामध्ये केहीले प्रहरीको आरोप स्वीकार गरेका छैनन् भने अधिकांशले पोर्न भिडियो सेयर गरेपनि पैसा कमाउने उद्देश्यले त्यस्तो अपराध नगरेको बयान दिएका छन्।

हङकङका नेपाली पनि पर्न सक्छन्
अन्तर्राष्ट्रिय प्रहरी संगठन–इन्टरपोलले मकाउबाट बालिकाको पोर्न भिडियो सेयर भइरहेको जानकारी दिएपछि यहाँको प्रहरीले ती नेपाली पहिचान गरी पक्राउ गर्न थालेको हो।

‘प्रहरीले बालिकाको त्यो यौन भिडियो गत जनवरीदेखि मार्चभित्र नेपालबाटै मकाउमा रहेका नेपालीको म्यासेन्जरमा आएको बताउने गरेको छ’, ती नेपाली सामाजिक कार्यकर्ता भन्छन्, ‘त्यो भिडियो हेरेर आफन्त र साथीभाइलाई सेयर गरेपछि यहाँका नेपाली प्रहरी फन्दामा परेका हुन्।’

उनका अनुसार नेपालबाट सेयर हुँदै आएको यौन भिडियो मकाउका नेपालीले हेरेपछि फेरि धेरैजसो नेपालकै नेपालीलाई सेयर गरेको पाइएको छ। केही सेयर अन्य देशमा बस्ने नेपालीमा पनि भएको देखिएको छ।

प्रहरीले पक्राउ गर्ने क्रममा त्यो भिडियो उसको म्यासेन्जरमा कहाँबाट आयो र अरु को कसलाई सेयर गर्यो भन्ने प्रमाणसमेत देखाउने गरेको छ।

‘पक्राउ गरेर भित्र लगेकामध्ये कतिपयलाई प्रहरीले त्यो भिडियो समेत देखाएर बयान लिने गरेको रहेछ’, मकाउमा कार्यरत अर्का एक नेपालीले भने, आफ्नो म्यासेन्जरमा आएको बालिकाको त्यो यौन भिडियो आफुले मात्रै हेर्दा फरक पर्दैन तर यहाँको कानुन अनुसार सेयर गर्न पाइँदैन, जो जसले अरुलाई सेयर गरे ती नेपाली पक्राउ परे’, उनले थपे।

प्रहरी र मकाउका नेपालीको अनुमानमा यो भिडियो पाँच सयदेखि एक हजार जनासम्ममा सेयर भएको हुनसक्छ।

‘यो काण्डले मकाउका दुई सयदेखि तीन सयसम्म नेपालीलाई तान्ला जस्तो देखिएको छ, मकाउका नेपालीबाट हङकङका नेपालीमा भिडियो सेयर भएको रहेछ भने हङकङमा पनि नेपाली पक्राउ पर्ने खतरा छ’, ती नेपाली सामाजिक कार्यकर्ता भन्छन्।

मकाउका नेपालीलाई अहिले कोरोनाभन्दा बढी यो यौन भिडियोले सतर्क बनाएको छ। पक्राउ परेर छुटेका वा पक्राउ नपरेका कोही पनि यो भिडियो काण्डबारे खुलेर कुरा गर्न चाहँदैनन्।

‘मकाउका नेपाली कोही नबच्नेजस्तो अवस्था आएपछि अहिले सबै सचेत भएका छन्’, उनले भने, अब त्यस्तो भिडियो आयो भने कि हेर्दै हेर्दैनन्, हेरेपनि सेयर चाहिँ गर्दैनन्।’

यो पनिः पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउमा ११ नेपाली पक्राउ

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .