बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्ष ‘प्रतिभा सम्मान’ र ‘प्रतिभा पुरस्कार’ क्रमशः वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमल र युवा कवि विमला तुम्खेवालाई प्रदान गर्ने भएको छ।
प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा गत आइतबार सम्पन्न भर्चुअल सभाले उनीहरूलाई पुरस्कार दिने निर्णय गरेको हो।
संस्कृतिविद् विमललाई ५० हजार रुपैयाँ तथा ताम्रपत्रसहित ‘प्रतिभा सम्मान २०२०’ र कवयित्री तुम्खेवालाई एक लाख रुपैयाँ र ताम्रपत्रसहित ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्न लागिएकाे प्रतिष्ठानले जनाएको छ।
लामो समय प्राध्यापन पेसामा रहेर नेपाली तथा मैथली भाषा/साहित्य, कला र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान गरेबापत डा. विमललाई सम्मान गर्न लागिएको हो।
समयका आँखा, राजेन्द्र विमलका कथाहरू, इतिहासका धावक र हमरे कथा थिक कथासंग्रह, फिस्टि रानी बालकथा, रोएको जून र खहरेको तीर्खा, इतर ब्रह्माण्ड नाटक, मिथिला गौरव र मिथिलाको इतिहास, संस्कृति र कला–परम्परा, गद्य, पद्य र नाटक समालोचना, नेपाल परिचय नवनीत र नेपाली, अंंग्रेजी, मैथली शब्दकोशलगायत २ दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने उनले फिल्म, टेलिशृंखला र नाटकमा अभिनयसमेत गरेका छन्।
उनले यसभन्दा अगाडि जगदम्बाश्री, कलाश्री, भानुभक्त, प्रज्ञा दर्शनशास्त्र, समाजशास्त्र एंव संस्कृति, साझा र मैनाली कथा तथा जनसेवाश्रीजस्ता झन्डै दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।
त्यसैगरी कवयित्री तुम्खेवालाई कविता लेखनमा उल्लेखनीय योगदान पुर्याएबापत प्रतिभा पुरस्कार प्रदान गर्न लागिएको हो।
उनले ‘तुम्खेवाका कविताहरू, नदी छाल र तरंगहरू, संस्मरण एउटा बूढो रूखको र हत्केलामा पृथ्वी लिएर
उभिएको मान्छेलगायत कविता संग्रह प्रकाशित छन्। उनका कविता हिन्दी, अंग्रेजी, कोरियाली र लिम्बू भाषामा समेत अनुवाद भएका छन्।
कविताका साथसाथै तुम्खेवा पत्रकारिता तथा आख्यान लेखन तथा सामाजिक गतिविधिमा समेत उनी सक्रिय छन्।
सन् २००८ मा बेलायतमा स्थापित प्रतिष्ठानले स्थापना कालदेखि नै हरेक साल ५० वर्षभन्दा माथि उमेरका स्रष्टालाई सम्मान तथा यसभन्दा मुनिका स्रष्टालाई पुरस्कार प्रदान गरिरहेको हो।
योपटक १३औं संस्करण हो। प्रतिष्ठानले अहिले सम्म २४ जनाभन्दा बढी सृष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिसकेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले नेपालखबरलाई जानकारी दिए।
कोरोना महामारी सामान्य हुँदै गएपछि कार्यक्रम आयोजना गरी ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका उनले बताए।
नयाँ कार्यसमिति
गत आइतबार सम्पन्न प्रतिष्ठानको भर्चुअल सभाले वरिष्ठ साहित्यकार गणेश राईको अध्यक्षतामा चौथो कार्यसमिति चयन गरेको छ।
जसमा उपाध्यक्ष टंक वनेम, महासचिव दवेन्द्र खेरेस, सचिव नरेश नाति, सहसचिव अञ्जु अञ्जली, कोषाध्यक्ष चोक गुरुङ र सहकोषाध्यक्ष निर्मला परिवेश राई छन्।
नवगठित कार्यसमितिको पदावधि ३ वर्षको हुनेछ। बेलायत बसेर नेपाली साहित्य, कला र संगीतको विकास तथा नेपाल र बेलायत बस्ने नेपालीबीच सम्बन्ध स्थापनामा सेतुका रूपमा भूमिका निर्वाह गर्न प्रतिष्ठान सन् २००८ मा स्थापना भएको हो।
प्रतिष्ठानमार्फत हालसम्म दर्जनौं कृति प्रकाशन भइसकेको महासचिव खेरेस बताउँछन्। साथै मोफसलमा ओझेलमा परेका प्रतिभालाई हौसला प्रदान गर्न सम्मान तथा पुरस्कार प्रदान गर्ने गरिएको उनले बताए।
Shares
प्रतिक्रिया