राष्ट्रिय सुरक्षा कानुन अन्तगर्त सामुहिक गिरफ्तार गरिएको यो पहिलो घटना हो। हालसम्म ५३ जनालाई गिरफ्तार गरिएको बताइएको छ।
सन् २०२० को सेप्टेम्बरमा हुने भनिएको स्थानीय सरकारको चुनाव भन्दा पहिले सबैभन्दा प्रख्यात उम्मेदवार पत्ता लगाउन उनीहरुले अवैध रुपमा आन्तरिक निर्वाचन गरेको बताइएको छ।
हङकङका रक्षामन्त्री जोन लि का–चिउका अनुसार उनीहरु सबैले मिलेर अहिलेको सरकारलाई ढाल्न त्यस्तो कार्य गरेका थिए।
‘उनीहरु विधान परिषदमा ३५ भन्दा बढी सिट प्राप्त गर्न चाहन्थे। ताकि उनीहरूले भिटो प्रयोग गर्दै सरकारको हरेक निर्णयको वेवास्ता गर्न सकुन्, यसले प्रमुख कार्यकारीमाथि राजीनामा दिनुपर्ने अवस्था सिर्जना गर्ने थियो। यसको उद्देश्य सरकारलाई प्यारालाइज गर्नु थियो’ उनले भनेका छन्।
एससीएमपीका अनुसार अहिले हिरासतमै रहेका जोसुवा वोङको घरमा प्रहरीले बुधबार छापा मारेका थिए।
त्यहाँबाट प्रहरीले केही समाचार पत्र तथा सूचनाहरु संकलन गरेका छन्। बुधबार बिहानैबाट प्रहरीले गिरफ्तार कार्य सुरुवात गरेको थियो।
प्रहरीले ल फर्म हो से वाई एन्ड पार्टनरमा पनि खोज तलास गरेको थियो। एप्पल डेली तथा स्ट्यान्ड न्युजले प्राथमिक उम्मेदवारहरु खोज्ने अभियान चलाएको बताइएको छ।
गिरफ्तार भएकामध्ये तीन जना सिभिक पार्टीका, सात डेमोक्रेटिक पार्टीका, २१ जना जिल्ला काउन्सिलरहरु, दुई शिक्षाविद तथा एक अमेरिकी नागरिक र मानव अधिकारका वकिल भएको बताइएको छ।
पक्राउ परेकामध्ये विपक्षी चर्चित नेताहरु पनि छन्। जेम्स तो, लाम चिउक तिङ, लेस्टर सुम र बेनी ताइ पक्राउ परेका छन् भने एसियन ह्युमन राइट्स कमिसनका प्रमुख तथा अमेरिकी वकिल जोन क्लान्से पनि गिरफ्तार भएका छन्।
गतवर्षको जुलाईमा हाल गिरफ्तार भएकाहरुले प्रभावशाली व्यक्तिहरुलाई खोज्न प्राथमिक निर्वाचनको आयोजना गरेका थिए। त्यस निर्वाचनमा ६ लाख मानिसले भाग लिएको बताइएको छ।
यद्यपी कोरोना भाइरसको प्रकोपका कारण सेप्टेम्बरमा हुने भनिएको विधान परिषदको निर्वाचन स्थगित गरिएको थियो।
त्यसबेला हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विपक्षीहरुको प्राथमिक निर्वाचनलाई विध्वंशकारी कार्यको संज्ञा दिएकी थिइन्।
Shares
प्रतिक्रिया