गत बुधबार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक खारेजीको घोषणा गरेकी थिइन्। यद्यपी प्रदर्शन भने लगातार भइरहेको छ।
आन्दोलनकारीले शनिबार चेप लाप कोक बिमानास्थलमा प्रदर्शन गरेका छन्। आन्दोलनकारीले आज अपरान्ह १ बजेबाट प्रदर्शन सुरुवात गरेका थिए।
तर उनीहरुको उपस्थिति न्यून रहेको बिमानास्थलमा कार्यरत सुरक्षाकर्मी बर्दन गुरुङले नेपालखबरलाई बताएका छन्।
गत अगस्टमा विमानास्थलभित्र प्रदर्शनकारीले लगातार प्रदर्शन गर्दा यहाँका सयौं उडानहरु रद्द भएका थिए। हङकङको अर्थतन्त्रमा त्यसले ठूलो असर गरेपछि यहाँको उच्च अदालतले आन्दोलनकारीहरुमाथि निषेधाज्ञा जारी गरेको छ।
यद्यपी आन्दोलनकारीले अदालतको आदेशको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन्।
विमानस्थलमा खटिएका सुरक्षाकर्मी
प्रदर्शनकारीहरूले विमानस्थल परिसरलाई लक्षित गरेर धम्की दिएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका संचालकले शनिबार दिउँसो उड्डयन हबको बस स्टेशनमा भेला भएका मानिसहरूलाई तुरुन्तै बाहिरिन र अदालतको निषेधज्ञालाई उल्लंघन नगर्न आग्रह गरेका थिए।
प्रहरी र अन्य सुरक्षाकर्मीहरुको व्यापक प्रयासपछि शनिबार विमानस्थलसम्म पुग्ने यातायात तथा विमानास्थलका गतिविधि सामान्य रुप चलेको अधिकारीहरुले बताएका छन्।
विमानस्थलमा यात्रुको सुरक्षाका लागि प्रहरीहरु खटाइएको छ। त्यहाँ प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्था कडा गरिएको छ। दर्जनांै प्रहरीहरुले टर्मिनल भित्र गस्ती बढाएका छन्। विमानस्थलका अनुसार ट्राभल कागजात भएको व्यक्तिलाई मात्र भित्र पस्ने अनुमति दिईएको छ।
हङकङ सययअनुसार साँझ साढे ६ बजे अदालतको आदेश अवज्ञा गर्दै विमनस्थलमा प्रदर्शन गर्न खोज्ने एक ५९ बर्षकी महिला चीन पो फुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
पक्राउ परेकी महिला
साँझ साढे ५ बजेतिर सयभन्दा बढी प्रदर्शनकारीहरू तुंग चुंग एमटीआर स्टेशनमा भेला भएका थिए। उनीहरुले “हङकङलाई मुक्त गराै, हाम्रो समयको क्रान्ति!’ जस्ता नाराबाजी लगाएका थिए।
त्यहाँ उल्लेख्य प्रहरी परिचालन गरिएको छ। त्यहाँ झपड हुने स्थिती निम्तिएको छ। प्रदर्शनकारीका कारण त्यस वरपर चल्ने यातायातमा समेत असर परेको छ।
प्रहरीको सुरक्षाका कारण विमानास्थल भित्रको चहलपहल यतिबेला सामान्य बन्दै गएको नेपाल एयरलाईन्सका हङकङ कन्ट्री म्यानेजर बृहतमान तुलाधरले नेपालखबरलाई बर्ताका छन्।
उनले भने,‘हल भित्र सबै काम राम्रोसँग चलिरहेको छ, हाम्रो नेपाल एयरलाईन्स समयतालिका अनुसार उड्ने तयारीमा छ।’
आन्दोलनले एयरलाईन्सलाई कस्तो असर पुर्याएको छ? भनी नेपालखबरले सोधेको प्रश्नमा तुलाधरले भने,‘निकै नै असर परेको छ, चिनियाँ यात्री सङ्ख्या घटेका छन्, अहिले “पिक सिजन“ हो, वाईडबडी चलाउनु पर्ने हो, तर यात्रीहरु घटेको कारण सानो जहाज नै चलाईरहेका छाै।’
विमानस्थलमा खटिएका सुरक्षा गार्ड
यही आन्दोलनकै कारण नेपाली यात्रीहरु समेत घटेको तुलाधरले बताएका छन्।
सुनकोसी गोर्खा सेक्युरिटी कम्पनीबाट एयर्पोर्टमा सेक्युरिटी सुपरभाईजरका रुपमा कार्यरत सुशील नेवाले सुरक्षाकर्मीहरुले हङकङ प्रदर्शनका क्रममा सास्ती खेपेको बताएका छन्।
उनी भन्छन्,‘भीड नियन्त्रण गर्दा अरु त के फोन रिसिभ गर्ने समय पनि छैन।’ एयर्पोर्टमा झन्डै डेढ सय नेपालीहरु सुरक्षाकर्मीको रुपमा कार्यरत छन्।
हङकङमा जारी प्रदर्शनका कारण त्यहाँका विमानस्थलले अहिलेसम्म ६० करोड हङकङ डलरभन्दा बढी घाटा व्यहोरेको अधिकारीहरुले बताएका छन्। हङकङमा वार्षिक ७ करोड ५० लाख यात्रीहरु विमानस्थलमार्फत् आवातजावत गर्छन।
आन्दोलनका कारण वाह्य पर्यटकको प्रवाह घट्दै गएको छ। आन्दोलनकारीहरुले सातिन सपिङ मल, काउलुन बे को टेलफोर्ड प्लाजा, प्रीन्स एडवार्ड लगायतका स्थानमा घर्ना दिईरहेका छन। आन्दोलनले १४ हप्तामा प्रवेश गरेको छ।
Shares
प्रतिक्रिया