गैरआवासीय नेपाली संघ(एनआरएनए) मकाउको छैटौं अधिवेशनले पूर्णबहादुर गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।
मकाउको इन्डियन गार्डेन रेस्टुरेन्टमा आइतबार सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा एनआरएनए मकाउको २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
सुरुमा शान्ति अधिकारी र राजकुमार गुरुङ अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए। अधिवेशनका लागि केन्द्रबाट आएका केन्द्रीय महासचिव बद्री केसीको मध्यस्थतामा सर्वसम्मतको वातावरण बनाइएको हो।
नयाँ कार्यसमितिमा रत्नमणि राई, राज कुमार गुरुङ र बिकेन जोशी उपाध्यक्ष, शिव थापा महासचिव, राजेश गुरुङ सचिव र प्रेमबहादुर बिके कोषाध्यक्षमा चयन भएका छन्।
युवा संयोजक र महिला संयोजकमा निशान घर्ती क्षेत्री र शर्मिला राई छन् भने सदस्यहरूमा कलबहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्मवीर बुढा, गम्भीर महत, दीपक तामाङ, रोजन लामा र सुरेश सुनार छन्। बाँकी रिक्त पदमा पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष गुरुङले बताए। आईसीसी सदस्यमा मंगलबहादुर राई चयन भएका छन्।
दुई वर्षका निम्ति निर्वाचित अध्यक्ष गुरुङले नेपालखबसँगको कुराकानीमा भने, ‘ममाथि विश्वास गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्न चाहन्छु, मेरो कार्यकालमा मैले घोषणा गरेका ९ बुँदे घोषणा पत्रमा उल्लिखित एजेन्डाहररू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, साथै संस्थाले गर्दै आएका कामलाई निरन्तरता र अग्रज हरूको सुझाव/सल्लाह मनन गर्दै सस्थालाई गतिशील बनाउनेछु।’
एनआरएनए मकाउ सन् २००७ मा स्थापना भएको हो। छैटौं अधिवेशनका लागि ८१९ मतदाता दर्ता भएका थिए। मकाउमा झन्डै ५ हजार हाराहारी नेपाली बस्छन्।
प्रतिक्रिया