अर्थतन्त्रलाई बढावा दिन र विश्वव्यापी मञ्चमा सहरको छवि प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई विस्तार गर्ने लक्ष्य अनुरुप यस वर्षको पहिलो ६ महिनामा ८० भन्दा बढी ‘मेगा इभेन्ट’ आयोजना गरिने अधिकारीहरूले यसअघि घोषणा गरेका थिए।
वाणिज्य तथा आर्थिक विकास (कमर्स एन्ड इकोनोमिक डेभलपमेन्ट) सचिव एल्गर्नन् याउले छिट्टै नै तीन वटा मेगा इभेन्ट हुने सोमबार बताए।
जसमा विश्वकै ठूलो मानिने कोरियाली सांस्कृतिक कार्यक्रम के–कन्, यूएस फेस्टिभल कम्प्लेक्सकन् र सुपर टर्मिनल एक्स्पो हुनेछन्। जुन चीन वा एसियामै पहिलो पटक आयोजना हुने उनको कथन छ।
उनको यो घोषणालाई अधिकारीहरूले यसअघि गरेको वाचाको कार्यान्वयन हो भनी मान्न सकिन्छ।
सचिव याउले कोभिड–१९ का कारण बन्द भएको नाका गत वर्ष खुलेपछि प्रदर्शनी उद्योगको रिकभरी सोचेभन्दा राम्रो भएको बताउँदै महामारीपूर्वको अवस्थामा लगभग ७० देखि ८० प्रतिशतसम्म फर्किसकेको बताए।
माथि उल्लेख गरिएका तीन इभेन्ट बाहेक आर्ट बासेल प्रदर्शनी अर्को महिना, एपीएलएफ लेदर शो दुबईपछि हङकङमा हुने र भिनेक्स्पो एसिया मे महिनामा हङकङमा गर्ने तयारी रहेको सचिव याउले बताएका छन्।
यसका साथै, यसै वर्ष हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टर र एसियावर्ल्ड एक्स्पोमा कम्तीमा एक सय ६० प्रदर्शनी र एक सय ५० सम्मेलन आयोजना गर्ने तयारी रहेको उनले बताए।
यसैगरी, ट्रेड डेभलपमेन्ट काउन्सिलका अध्यक्ष पिटर लामले हङकङको आर्थिक तथा व्यापारिक विकासलाई प्रवर्धन गर्ने उद्देश्यले यस वर्षको प्रत्येक महिनामा कम्तीमा एउटा प्रमुख कार्यक्रम आयोजना गरिने बताए।
लामका अनुसार, हङकङ इन्टरनेसनल ज्वलेरी शो, द डायमन्ड, पर्ल एन्ड जेम शो र इन्टरटेनमेन्ट एक्स्पो हङकङ अर्को महिना सहरमा आयोजना हुने कार्यक्रम हुन्। त्यस्तै, अप्रिलमा प्रविधिसम्बन्धी दुई प्रदर्शनी हुनेछन्। जसमा इनोएक्स पनि समावेश हुनेछ।
यसका साथै यसै वर्ष फेसन, स्वास्थ्य सेवा र प्रकाशनसम्बन्धी मेला पनि हुनेछन्। प्रकाशनसम्बन्धी मेलामा वार्षिक पुस्तक मेला समेत समावेश हुनेछ। एससीएमपी
Shares
प्रतिक्रिया