विश्वविजेता अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले हङकङमा दुई साताअघि भएको खेलमा नखेल्नुको कारण तिघ्राको चोट भएको र यसमा कुनै राजनीतिक कारण नभएको स्पष्टोक्ति दिएका छन्।
चीनको वेइबो सोसल मिडिया प्लेटफर्ममा पोस्ट गरिएको भिडिओमा उनले उक्त कुरा बताका हुन्।
‘सबैलाई थाहा छ, म सधैं खेल्न चाहन्छु र हरेक खेलमा हुन चाहन्छु,’ फुटबल स्टार मेस्सीले भनेका छन्, ‘मैले हङकङमा भएको खेलपछि भनिएका धेरै कुरा पढेको र सुनेको छु। म यो भिडिओमार्फत सबैलाई सत्य कुरा भन्न चाहन्छु ताकि कसैले पनि झुटा कुरा पढ्न र सुन्न नपरोस्।’
राजनीतिक वा अन्य कारणले आफूले नखेलेको सम्बन्धमा मानिसहरूले भनेको आफूले सुनेकोले त्यसमा कुनै सत्यता नभएको पनि मेस्सीले स्पष्ट पारेका छन्।
फेब्रुअरी ४ मा हङकङमा भएको खेलमा मेस्सी पूरै समय बेन्चमै रहेका थिए। जसबाट मोटो रकम खर्च गरेर उनको खेल हेर्न आएका दर्शक निराश बनेका थिए।
निराश दर्शकले स्टेडियमभित्रै रकम फिर्ताको माग गर्दै नाराबाजी समेत गरेका थिए।
एकातिर मेस्सी नखेलेको सम्बन्धमा हङकङमा असन्तुष्टि त छँदैथियो। त्यसमाथि त्यसको तीन दिनपछि जापानमा भएको खेलमा मेस्सी सहभागी भएपछि यसले झन् चर्को रूप लियो।
जसको परिणामस्वरुप चिनियाँ अधिकारीहरूले सो मुलुकमा हुन लागेको अर्जेन्टिनाको दुई खेल रद्द गरिदिएका थिए।
मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टोली मार्च १८ देखि २६ सम्म चीन भ्रमणको तयारीमा थियो। जसमा नाइजेरियासँग हाङझाउमा र आइभरी कोस्टसँग बेइजिङमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो। जुन चिनियाँ अधिकारीले रद्द गरिदिएका छन्।
Shares
प्रतिक्रिया