टुँडिखेललाई नेपाल भाषामा ‘तिनिख्यः’ भनिन्छ। ‘ख्य’ भनेको चौर हो।
काठमाडौंको मध्य भागमा रहेको यो चौरमा ‘टुँडिल’ नामकी देवी रहेकी किंवदन्ती छ। यसैका आधारमा टुँडिल देवीको चौरलाई ‘टुँडी ख्य’ भन्न थालियो। अपभ्रंश हुँदै ‘टुँडिखेल’ बन्न पुगको मत सुनिन्छ। यो जानकारीमूलक सामग्री आज आइतबार प्रकाशन हुने नेपाल साप्ताहिकमा नुनुता राईले पस्केकी छन्।
मल्लकालमा टुँडिखेल सांस्कृति थलो थियो। यहाँ विभिन्न जात्रा एवं सांस्कृतिक कार्यक्रम हुने गर्थे। वास्तुविद् प्रा. सुदर्शनराज तिवारीका अनुसार पहिले काठमाडौंमा दुई माझी (देउता)को जात्रा भनेर नयाँ वर्षमा मनाउने चलन थियो।
‘देवताको पूजा गर्ने भाँडामा ‘तुङखेल’ लेखिएको भेटिएको र तुङखेलबाटै टुँडिखेल भनिन थालिएको हो,’ प्रा. तिवारी भन्छन्, ‘राणा शासनकालमा सैनिक संस्कृति सुरु भएसँगै टुँडिखेलमा कवाज खेल्ने र विश्वयुद्धमा जाने सिपाहीलाई तालिम दिन थालियो, यही क्रममा रत्नपार्कदेखि सहिदगेटसम्म सम्याइएको हो।’
टुँडिखेल अतिक्रमण गरेर रत्नपार्क बनाइएको विषयमा पनि प्रा. तिवारीको फरक मत छ। रानीपोखरीको दक्षिणपट्टि राखिएको शिलालेखमा ‘मासवखेल’ लेखिएको छ।
‘अहिलेको रत्नपार्क भएको चौरलाई ‘मासवखेल’ र त्यसको दक्षिणपट्टि ‘तुङखेल’ अर्काे खुला स्थान थियो,’ उनी भन्छन्, ‘रानीपोखरी बनाउँदा टुँडिखेल अतिक्रमण गरेर बनाएको भन्ने कुरा सत्य होइन।’
प्रतिक्रिया