ad ad

छापा खबर


यौन धन्दाका लागि काठमाडौँमै हुन्छ महिला बेचबिखन

यौन धन्दाका लागि काठमाडौँमै हुन्छ महिला बेचबिखन

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १:३९,

तीन वर्षअघि काली (नाम परिवर्तन) काठमाडौँ आइपुग्दा भर्भराउँदी थिइन्।

बालाजु माछापोखरीको एक होटलमा काम थालेपछि सकसको यात्रा सुरु भयो । सानैमा बिहे भई दुई बच्चा सन्तान भए । श्रीमानको मृत्युपछि कामको खोजीमा हिडिन्।

“भाँडा माझ्ने, सरसफाइ गर्ने अनि खाना पकाउन सघाउँथे” उनले भनिन्, “पैसा कमाएर जग्गा घर जोड्ने र छोराछोरीसँगै बस्ने सपना थियो।”

साहुजीले यौन शोषणसँगै यौनधन्दामा लगाएपछि उनका सपना तुहिए । नमानेमा तलब दिन्न, मारेर फाल्दिन्छु भनी धम्क्याउँथे । कहिलेकाहीँ बढी पैसा पाउँछेस् भनेर फकाउँथे ।

नशालु पदार्थ र मदिराको लत बसाउँदै अन्य होटल, दोहोरी साँझमा यौन धन्दामा पठाउँथे । सडकका रिक्सा चालकदेखि विदेशी ग्राहकसम्मले आफूलाई जथाभावी असुरक्षित यौन सम्पर्क राखेको बयान उनले प्रहरीलाई दिएकी छन्।

यतिबेला उनी जीवन मरणको दोसाँधमा वीर अस्पतालको आईसीयू कक्षमा उपचाररत छिन्। अत्यधिक मदिरा र यौन धन्दाको सकसले शरीर क्षतविक्षत छ । यौनाङ्ग र अन्य संवेदनशील अङ्गसहित शरीरभरि चुरोट र तातोपानीले पोलेका घाउ छन् । कलेजोले काम गर्दैन।

कैलालीको एक होटलमा काम गर्ने बालिकालाई जबरजस्ती यौन धन्दामा लगाइयो । आर्थिक अवस्था कमजोर भएकी बालिकालाई होटलको भाँडा माझ्ने र अन्य काम लगाउने सर्तमा राखिएको थियो ।

तर होटल सञ्चालकले जबरजस्ती यौन व्यापारमा लगाएको पाइएको हो । यस घटनाको हाल कैलाली जिल्ला अदालतमा मानव बेचविखन मुद्दा चलिरहेको छ।

घरेलु काम गर्ने बहानामा महिला र बालबालिकालाई यौन धन्दामा प्रयोग गरिएका यी दुई प्रतिनिधि घटना हुन् ।

जब पीडितले पीडा सहन नसकी सडकमा पुग्छन् वा कसैले सार्वजनिक गरिदिन्छन्, त्यसपछि मात्र घटना बाहिर आउँछ । धेरै महिला र किशोरी घरेलु कामबाटै यौन व्यवसायमा प्रवेश गरेका कैयौँ उदाहरण छन् । यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

सङ्गठित भएका यौनकर्मी महिला आफ्ना बाध्यताका फेहरिस्त प्रस्तुत गर्छन् । राजधानीमा झण्डै पचास हजार हाराहारीका यौनकर्मी महिलामध्ये अत्यधिक आर्थिक कमजोरी र घरेलु हिंसापछि कामको खोजी गर्दैगर्दा यौन धन्दाको दलदलमा फस्न पुगेका अनुभव सुनाउँछन्।

सहरमा एक होटलबाट अर्को होटलमा र एक सहरबाट अर्को सहरमा महिला बिक्री हुने कार्यले विकराल रूप लिँदै गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल स्वीकार गर्छन् ।

“कतिपयलाई त यो अपराध हो भन्ने नै थाहा छैन”, उनले भने, “विवाहित पुरुष वा महिलाले एकबाहेक अन्यसँग यौन सम्पर्क राखेमा पनि त्यो मानव बेचबिखन ठहर्ने कानुन छ।”

आन्तरिक रूपमा भइरहेका यस्ता बेचबिखनमा सबैभन्दा बेइमान पुरुष नै देखिएको उनले बताए। विभिन्न प्रलोभनमा पारेर यौन धन्दामा लगाउने अनि आफू पनि गमन गर्ने काममा पुरुष अग्रसर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .