ad ad

छापा खबर


सरकारले दुई वर्षअघि नै गरेको थियो तुइन विस्थापनको घोषणा, तर हुम्ली भने तुइनमा सय तिरेर नदि तर्दैछन्

सरकारले दुई वर्षअघि नै गरेको थियो तुइन विस्थापनको घोषणा, तर हुम्ली भने तुइनमा सय तिरेर नदि तर्दैछन्

नेपालखबर
माघ २९, २०७६ बुधबार २:५७,

सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन। कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ । त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर। यो खबर आजको कान्तिपुर दैनिकमा हुम्लाबाट छपाल लामाले लेखेका छन्।

सय रुपैयाँ तिरेर तुइनबाट वारिपारि गर्नेहरूले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ । ‘पुरानो र धराप छ, तुइनबाट वारिपारि गर्दा भगवान्को नाम जप्छौं,’ स्थानीय काली विकले भनिन्, ‘पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन्।’ कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन।

खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्छन्।

स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदा दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन्।

अप्ठेरो बाटोमा जोखिम मोलेर यात्रा गर्न नसकिने भएपछि तुइन तर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गरिन् । ‘हिउँदमा पनि नदीको पानी घट्दैन,’ उनले भनिन्, ‘घुमाउरो बाटो हिँड्ने दुःखले पैसा तिरेरै तुइन चढिरहेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .