कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट सुरु हुने भएको छ।
कतिपय प्रदेशमा सुरु भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै सुरु हुने खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अब सरकारले सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु गर्न लागेको जानकारी दिए।
‘कतिपय प्रदेशमा सुरु भयो भने कतिपय प्रदेशमा भोलि–पर्सिदेखि नै सुरु हुनेछ,’ उनले भने। हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र हेटौँडामा परीक्षण सुरु भइसकेको उनले जानकारी दिए।
‘कर्णाली प्रदेशमा पनि सुरु भएको जानकारी आएको छ,’ उनले भने, ‘बाँकी प्रदेशमा पनि तत्काल परीक्षण सुरु गर्ने तयारी भइरहेको छ।’
धरानमा हाल दैनिक १२ जनाको स्वाब परीक्षण सुरु गरिएको छ। प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले दैनिक १२ जनाको कोरोना परीक्षण भइरहेको जानकारी दिए।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा सुरु गरिएको जानकारी दिए।
प्रतिक्रिया