ad ad

छापा खबर


१० घण्टा लामो शल्यक्रियापछि ट्रमा सेन्टरमा जोडियो चुँडिएको हात

१० घण्टा लामो शल्यक्रियापछि ट्रमा सेन्टरमा जोडियो चुँडिएको हात

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १:१२,

राष्ट्रिय ट्रमा सेन्टरमा एक बिरामीको पूर्ण रुपमा छिनिएको हात १० घण्टा लामो शल्यक्रिया गरी जोडिएको छ।

काठमाडौंको दक्षिणकाली स्थित एक कारखानामा काम गर्ने सर्लाही गाउँपालिकाका १८ वर्षीय रवी सिंहको मेशिनले छिनेको हात चिकित्सकहरुले जोडिदिएका हुन्।

फ्लेक्स पाइप मेशिनले सिंहको दाहिने हत्केला पुरै छिनेपछि ट्रमा सेन्टरको आकस्मिक कक्षमा भर्ना भएका थिए।

अस्पतालका प्लाष्टिक सर्जरीका प्रमुख प्रा.डा.पियूष दाहालको नेतृत्वमा प्लाष्टिक सर्जनहरु डा. कृष्ण मानन्धर, डा.अपार लामिछाने, डा.कलमराज पाठक तथा एनेस्थेसियाका डा.रुपेश यादव, डा.छिरिङ शेर्पा र नर्सहरु पिङ्की लागेजु र अनुपमा फुयाँलको संलग्नतामा १० घण्टा लगाएर सफल शल्यक्रिया गरिएको अस्पतालका प्लास्टिक सर्जन डा.अपार लामिछानेले जानकारी दिए।

सिंह अस्पतालको आकस्मिक कक्षामा असार २९ गते भर्ना भएका थिए। यस अघि टिचिङ अस्पताल र १२ वर्ष अघि पोखराका एक चिकित्सकले पनि यस्तो शल्यक्रिया गरेका खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

अन्य अस्पतालमा भने यस्तो शल्यक्रिया भइसकेको भएपनि राष्ट्रिय ट्रमा सेन्टरमा भने पहिलो पटक हो। हात जोड्ने शल्यक्रियालाई जटिल शल्यक्रिया मानिन्छ।

कोभिड १९ संक्रमणको बेला शल्यक्रिया कम हुने भएपनि आकस्मिक कक्षमा आएका घाइतेहरुको चिकित्सहरुले जोखिम मोलेरै शल्यक्रिया गर्ने गरेको राष्ट्रिय ट्रमा सेन्टरका बर्न प्लास्टिक सर्जन तथा राष्ट्रिय चिकित्सा विज्ञान प्रष्ठिानका डीन डा.पियुष दाहालले बताए।

‘दश घण्टासम्म पीपीई लगाएर शल्यक्रिया गर्दा शौचालय पनि जान पाएनौं’उनले भने। तर यस्ता बिरामीको हात बचाउन पाउँदा शल्यक्रियामा संलग्न चिकित्सकहरु खुशी भएको उनले बताए।

असार २९ गते साँझ ८ बजेदेखि सुरु गरिएको शल्यक्रिया ३० गते बिहान मात्र सकिएको थियो। शल्यक्रियमा संलग्न टोलीका चिकित्सक डा.अपार लामिछानेका अनुसार बिरामी भर्ना भएको एक घण्टाभित्र छुटेको हात सफा गर्ने र बिरामीको रगत परीक्षण गर्ने काम सकियो।

त्यसपछि पहिलो चरणमा हातको हड्डी जोडियो, दोस्रो चरणमा हात चलाउने नशाहरु जोडियो, तेस्रो चरणमा हातका स्नायु खोजेर जोड्ने र चौथो चरणमा हातमा रक्तसंचार गर्ने नशाहरु खोजेर जोड्ने शल्यक्रिया पुरा गरिएको थयो। शल्यक्रियाको केही दिनमा बिरामी डिस्चार्ज भएपनि हात पुरै सक्रिय हुनको लागि फिजियोथेरापी गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .