ad ad

छापा खबर


आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १:१९,

सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझदारीका कारण उत्पन्न परिस्थितिले पार्टी एकतामै संकट देखापरिरहेका बेला ओलीले सचिवालयमा आफ्नो तर्फबाट प्रस्ताव पेस गर्ने कार्यसूची छ।

अध्यक्षद्वयको सहमतिमा साझा प्रस्ताव ल्याउने परम्पराविपरीत कार्यकारी अध्यक्ष दाहालले ओलीलाई आरोपित गरी कात्तिक २८ गते छुट्टै प्रस्ताव ल्याएका थिए।

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्ताव तयार भइसकेको जानकारी दिए। ‘प्रधानमन्त्रीले आफ्नो प्रस्ताव तयार पारिसक्नुभएको छ। प्रधानमन्त्रीले आफैं आफ्नो प्रस्ताव तयार पार्ने कुरा गर्नुभएको थियो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘अर्का अध्यक्षले लगाउनुभएको आरोपपत्रको खण्डन गर्ने र सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय समेटिएर उहाँको प्रस्ताव आउँछ।’

ओलीको प्रस्ताव सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुर्‍याउने र एकतालाई अक्षुण्ण राख्ने साथै पहिला नै तोकेअनुसार महाधिवेशनको टुंगो लगाउनेजस्ता विषयमा केन्द्रित छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त, पार्टीले सरकारका काममा सहयोग गर्न नसकेका विषयदेखि समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै अबको महाधिवेशनसम्म जाने विधि र बाटोका विषय पनि आउने बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्रीले महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विषयलाई पनि आफ्नो प्रस्तावमा महत्व दिएर उठाउन लागेका छन्। ओलीले आफ्नो प्रस्ताव उपप्रधानमन्त्री पोखरेल, संसदीय दलका नेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतसँग छलफल र परामर्शका आधारमा तयार पारेका हुन्।

दाहालले यसअघि ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि ३ मंसिरमा बसेको बैठकमा ओलीले झुटा लाञ्छना नसहने स्पष्ट पार्दै जवाफ दिने बताएका थिए। दाहालले बैठकमा राखेको प्रस्ताव ‘प्रस्ताव’ नै नभएको ओलीको तर्क थियो।

बैठकको अघिल्लो दिन शुक्रबारसम्म दुई अध्यक्षबीच संवाद भएको छैन। दुवै पक्ष आ–आफ्नो आन्तरिक तयारीमै छन्।

दुवैका अडान यथावत् छन्। प्रधानमन्त्रीले आफ्नो सरकारी निवासमा उपप्रधानमन्त्री पोखरेल, संसदीय दलका उपनेता नेम्बाङ, महासचिव विष्णु पौडेललगायतसँग छुट्टाछुट्टै छलफल गरे।

दाहालले पनि आफ्नो निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग छलफल चलाए। ओली पक्षले दाहालको प्रस्ताव पार्टी केन्द्रीय कार्यालयलाई जानकारीबिनै अनधिकृत रूपमा तल्लो तहसम्म वितरण गरेर विधि र पद्धति उल्लंघन गरेको आरोप लगाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .