०७२ को भूकम्पले हाम्रा भौतिक संरचना मात्र भत्काएको थिएन, आत्मविश्वास पनि हल्लाइदिएको थियो । भूकम्पका असरबारे अनेक भ्रम र अनेक अनुमान आएका थिए।
विश्वको सर्वोच्च ताज सगरमाथाको उचाइ पनि तलमाथि परेको हुन सक्छ– राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारवालाहरूको अनुमान थियो।
‘सगरमाथाको उचाइबारे नयाँ–पुराना अनुमानलाई सम्बोधन गर्न नापी गर्नुपर्छ,’ नापी विभागका उपसचिव खिमलाल गौतमले सरकारसँग प्रस्ताव राखे, ‘नापी टोलीको नेतृत्व गर्न तयार छु ।’ सगरमाथाको उचाइ मापन गर्न चुचुरोसम्म आरोहण गर्नुपर्ने थियो।
अस्ट्रियाबाट जिओम्याट्रिक्सबाट मास्टर डिग्री गरेका गौतमका लागि आरोहण पनि नौलो थिएन । सन् २०११ नेपालले पर्यटन वर्ष मनाउँदा मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा निजामती कर्मचारीहरूको आरोहण दलमा सहभागी थिए उनी।
गौतमसँगै नापीमा जान तयार भए विभागका इन्जिनियर रविन कार्की । उनीहरूलार्ई सरकारले पत्यायो । ‘सगरमाथाको उचाइ मापन हुनुपर्छ, शिखरसम्म पुग्न आफैँ तयार छु भनेर गौतम सरले भनेपछि विभागलाई धेरै सजिलो भयो,’ नापी विभागका प्रवक्ता दामोदर ढकाल भन्छन, ‘उहाँको साहसलाई कदर गर्दै सरकारले तयारी ग¥यो ।’
गौतम र कार्कीसँगै सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तथा नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङजाङ्बु शेर्पा आरोहणको तयारीमा जुटे । करिब एक वर्षको प्रशिक्षण र तयारीपछि २७ चैत ०७५ मा आरोहण दल अघि बढेको थियो।
मौसमले साथ नदिँदा क्याम्प १ र क्याम्प २ मा तल र माथि गर्न बाध्य भएको आरोहण टोली आफ्नो उद्देश्यमा भने अविचलित थियो । अन्ततः काठमाडौंबाट हिँडेको ४१ दिनपछि ८ जेठ ०७६ को बिहान ३ः१५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगे उनीहरू । यो खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।
भनिन्छ, चुचुरोमा चढ्नभन्दा अडिन गाह्रो हुन्छ । अझ, नापीको टोलीलाई चुचुरोमा तस्बिर खिचेर मात्र फर्कने सुविधा थिएन । ‘अडिन धेरै नै गाह्रो थियो, तर हामीले त्यहाँ करिब एक घन्टा १६ मिनेट मापनसम्बन्धी काम ग¥यौँ, समग्रमा करिब दुई घन्टा माथि बितायौँ,’ गौतम भन्छन् ।
तथ्यांक संकलनका क्रममा सगरमाथाको चुचुरोमा १ घन्टा १६ मिनेटसम्म बसेको गौतमले जानकारी दिए।
तर, समिट फत्ते गरेर फर्कने वेला भने उनीहरू अनेक समस्यामा परे । ‘दुवैजनालाई समस्या हुन थाल्यो, रविन कार्कीजीको अक्सिजन कम भएर त बेहोस नै हुनुभयो,’ गौतमले भन्छन्, ‘तर, शेर्पा साथीहरूको सहयोगमा उद्धार भयो । क्याम्प २ बाट हामी दुवैजनालाई उद्धार गरेर काठमाडौं ल्याइयो।’
तर, रविनले त नयाँ जीवन नै पाएको गौतमको भनाइ छ । तर, उनले पनि आफ्नो देब्रे खुट्टाको बुढीऔँलो गुमिसकेको काठमाडौं आएपछि मात्र थाहा पाए । ‘उपचारका लागि भारत जानुप¥यो, औँला काटियो, अहिले कपास कोचेर मात्र जुत्ता लगाउनुपर्छ,’ गौतमले भने।
नेपाल सरकारले गौतम र कार्कीलाई १०–१० लाख रुपैयाँ सम्मानस्वरूप दिने घोषणासमेत गरेको छ । तर, हालसम्म उनीहरूले सो रकम प्राप्त गर्न भने सकेका छैनन् । असाधारण जोखिम उठाएर भए पनि उनीहरूले देश र दुनियाँका लागि भने ठूलो उपचार लिएर आएका थिए । हो, उनीहरूले ल्याएको तथ्यांकअनुसार विश्वको सर्वोच्च शिखर अझै उचो भएको छ।
सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर कायम भएको छ । नेपाल र चीनले छुट्टाछुट्टै मापन गरेर मंगलबार संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । विश्वकै अग्लो शिखर सगरमाथाको उचाइ विगतमा मानिएको आठ हजार आठ सय ४८ मिटरभन्दा ८६ सेन्टिमिटर बढी कायम भएको छ।
प्रतिक्रिया