ad ad

छापा खबर


१३ वर्षअघि इँटाभट्टामा हालिएका युवाकी श्रीमतीले अदालतमा भनिन्, ‘खासमा बमकाण्ड नै भएको होइन’

१३ वर्षअघि इँटाभट्टामा हालिएका युवाकी श्रीमतीले अदालतमा भनिन्, ‘खासमा बमकाण्ड नै भएको होइन’

नेपालखबर
मंसिर २४, २०७७ बुधबार २३:३५,

रौतहट फरहदवा (हाल राजपुर– २) स्थित सेख इद्रिसको गोठमा २७ चैत ०६४ को साँझ बम बनाइँदै थियो। भोलिपल्ट अर्थात् २८ चैतका दिन मुलुकभर संविधानसभाको चुनाव थियो।

मतदान केन्द्रवरपर विस्फोट गराएर मतदाता भगाउने र बुथ कब्जा गर्ने योजनाअनुसार बनिरहेको बम दुर्घटनावश अघिल्लो साँझ गोठमै विस्फोट भयो।

बमका योजनाकार थिए कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलम र उनका भाइ महताब । उनीहरूले बम बनाउन भारतको बिहारबाट कलिगढ झिकाएका थिए । कालिगढलाई साथ दिन बोलाइएका थिए स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर। भारतमा साइन्स पढिरहेका पिन्टु र दुबईमा काम गर्ने ओसी केही समयअघि मात्र गाउँ फर्किएका थिए।

तर, दुर्घटनावश अघिल्लो साँझ नै बम विस्फोट हुँदा गोठको छानो नै क्षतविक्षत भयो, बम बनाउने कलिगढ ठाउँको–ठाउँ ढले । नजिकै रहेका पिन्टु र ओसीलाई पनि बमको छर्राले लाग्यो । उनीहरू उपचार र उद्धारको पर्खाइमा थिए । तर, उपचार गर्दा घटना सार्वजनिक हुन्छ भन्ने डरले अफ्ताब र महताबले झन् डरलाग्दो योजना बनाए।

अफ्ताबका सोहयोगीले बेहोस हुने इन्जेक्सन दिएपछि पिन्टु र ओसीलाई ट्र्याक्टरमा हालेर राति नै इँटाभट्टामा लगियो । अन्य मृतकसहित दुवै युवालाई पनि जिउँदै भट्टामा हालिएको प्रत्यक्षदर्शी तथा पीडित परिवारका सदस्यहरूले मौखिक तथा लिखित रूपमा उजुरी दिएका थिए।

‘त्यति मात्र होइन, युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूको उजुरीमै उल्लेख छ।

तर, आफ्ना सहयोगी युवाहरूलाई जिउँदै भट्टामा हालेर खरानी बनाएपछि पनि १३ वर्षसम्म कानुनको पहुँचबाट जोगिँदै आएका मोहम्मद अफ्ताब आलम गत वर्ष मात्र पक्राउ परेका थिए।

१३ वर्षको कानुनी लडाइँमा त्रिलोकका बाबु श्रीनारायण, ओसीको आमा रोक्सना खातुन र ओसीका ससुरा समसुल मियाँले गाउँ राजपुर, जिल्ला सदमुकाम गौर, तत्कालीन क्षेत्रीय सदरमुकाम हेटौँडा र सर्वोच्च अदालत काठमाडौंसम्म दर्जनौँपटक यात्रा गरेका छन् । यसबीचमा श्रीनारायण र समसुल मियाँले दर्जनौँ धम्की पाएका छन् । रोक्सनालाई त गोली हानेर हत्या गरिएको छ ।

१३ वर्षको लडाइँ औपचारिक रूपमा न्यायिक प्रक्रियामा प्रवेश गरेको एक वर्ष भएको छ । र, रौतहट जिल्ला अदालतमा मुद्दाको औपचारिक बहस १८ मंसिरबाट सुरु भएको छ । तर, १३ वर्षसम्म न्यायको संघर्षमा रहेको ओसी अख्तरको परिवारले भने ऐनबखतमा बयान बदलेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

ओसी अख्तरकी श्रीमती अमना खातुन जसले आफ्ना श्रीमान्को मृत्यु भएको कागजात बुझाएर मृत्युदर्ताको प्रमाणपत्र लिएकी थिइन् । अहिले दबाब र प्रभाव थेग्न नसकेर आफ्नो श्रीमान्को मृत्युबारे जानकारी नभएको बयान दिएकी छिन्।

न्यायका लागि प्रहरी, समाज र सरकारलाई गुहार्दै आएकी अमना खातुनले नै बयान बदलेकी छिन् । ‘मेरा श्रीमान् ओसी अख्तर अहिले सम्पर्कमा छैनन्, तर बमकाण्डमा उनको मृत्यु भएको होइन । खासमा बमकाण्ड नै भएको होइन,’ उनले अदालतमा भनेकी छिन्।

छोरीको बयानलाई बाबु समसुल मियाँले पनि सदर गरेका छन् । जब कि ज्वाइँ ओसीसहित घाइतेलाई बोरामा हालेर इँटाभट्टामा हालिएको आफूले प्रत्यक्ष देखेको भन्दै उनले विभिन्न अड्डा–अदालतमा न्यायका लागि गुहार गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .