ad ad

छापा खबर


प्रधानमन्त्री संरक्षक रहेको नेपाल ट्रस्टको सम्पत्तिमा बिचौलियाले यसरी गर्दैछन् राज

प्रधानमन्त्री संरक्षक रहेको नेपाल ट्रस्टको सम्पत्तिमा बिचौलियाले यसरी गर्दैछन् राज

नेपालखबर
पुस २७, २०७७ सोमबार २३:३३,

प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौँको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ।

कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने कतिपय सम्पत्ति संरक्षणको अभावमा अलपत्र परेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति संरक्षण र सदुपयोग गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित ०६४ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो । तर, १४ वर्ष पुग्दा पनि शिक्षा र स्वास्थ्यमा ट्रस्टको कुनै सम्पत्ति सदुपयोग हुन सकेको छैन । यससम्बन्धी कुनै कार्ययोजना नै बनाइएको छैन । बरु, सरकारले व्यापारीको स्वार्थपूर्ति गर्ने गरी सम्पत्तिको दुरुपयोग गरिरहेको छ।

लिजमा लगाएका कतिपय जग्गाबाट ट्रस्टले भाडासमेत उठाउन सकेको छैन । सम्झौता सकिएको सात महिना हुन लाग्दा पनि काठमाडौं प्लाजा खाली गर्न सकेको छैन । उपत्यकाकै बजार क्षेत्रका जग्गाहरूसमेत ट्रस्टले भाडामा लगाउन सकेको छैन । अन्य सहरका मुख्य ठाउँमा रहेका सम्पत्ति पनि अलपत्र छन् । ठमेलदेखि चितवनसम्मका जग्गामा मुद्दा परेको छ । जसबाट ट्रस्टले महिनामै करोडौँ गुमाइरहेको छ।

राजनीतिक शक्ति र पहुँचका आधारमा नारायणहिटी संग्रहालयअगाडिको नेपाल ट्रस्टको एक रोपनी १४ आना जग्गा ३० वर्षका लागि लिजमा लिएको यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले त्यसमा भवन बनाउँदा ठूलो बदमासी गरेको छ । तीन तलाको भवन बनाउने सम्झौता भएकोमा अवैध ढंगले चार तला बनाएर भाडामा लगाएको छ ।

नेपाल ट्रस्टको कमलादीस्थित काठमाडौं प्लाजा पनि सात महिनादेखि व्यापारीको कब्जामा छ । ट्रस्टले न भाडा पाएको छ न भवन खाली गराउन पहल गरेको छ । यसबाट ट्रस्टलाई सात महिनामै झन्डै चार करोड नोक्सानी भएको छ ।

ताहाचलस्थित सोल्टी होटेलसँगैको चार रोपनी चार आना जग्गा पनि यती समूहकै थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि २७ करोड ७४ लाख ७५ हजार ६ सय ६८ रुपैयाँमा लिजमा दिइएको थियो । तर, सम्झौता भएको तीन वर्ष बित्दा पनि ट्रस्टले एक रुपैयाँ भाडा पाएको छैन।

नेपाल ट्रस्टको नाममा रहेको गोकर्णस्थित तीन हजार नौ सय ७१ रोपनी जग्गामध्ये दुई हजार सात सय ९२ रोपनी सरकारले विनाप्रतिस्पर्धा कौडीको भाउमा यती समूहको भगिनी संस्था यती होल्डिङ प्रालिलाई लिजमा दिएको थियो । तर, त्यसको पनि समयमा भाडा नपाउने गरेको ट्रस्टले जनाएको छ।

चितवनको आँपटारीमा मुख्य सडकसँगै जोडिएको ट्रस्टको साढे ६ बिघा जग्गा कसरा रिसोर्टले साढे चार वर्षअघि लिजमा लिएको थियो । वार्षिक २५ लाख भाडा तिर्ने गरी पाँच वर्षका लागि लिजमा दिइएको थियो । अबको ६ महिनापछि लिज अवधि सकिँदै छ, तर अहिलेसम्म पहिलो वर्षको २५ लाखबाहेक ट्रस्टले भाडा पाएको छैन । उल्टै, कसराले तिरेको भाडा र १५ लाख क्षतिपूर्ति गरी ४० लाख फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको छ।

ट्रस्टले राजा वीरेन्द्रको परिवारका नाममा अहिलेसम्म देशभर भेटिएको २१ हजार पाँच सय ६२ रोपनी जग्गा आफ्नो नाममा ल्याइसकेको छ । खोजी गर्ने क्रम अझै जारी रहेको ट्रस्टले जनाएको छ।

त्यस्तै, लाजिम्पाटमा रहेको ट्रस्टको ६ रोपनी १३ आना जग्गा नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकले लिजमा लिएर प्रयोग गर्दै आएको छ । आगामी वैशाखको अन्तिममा लिज अवधि सकिनेमा हालसम्म नयाँ टेन्डरका लागि तयारी गरिएको छैन ।

सरकारले ट्रस्टको सम्पत्ति प्रयोगमा आफूखुसी निर्णय गराउन दुई वर्षअघि ऐन नै संशोधन गरी बोर्ड सदस्य घटाएको थियो । ट्रस्टको अध्यक्ष गृहमन्त्री हुने गरेकोमा पछि प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई अध्यक्ष बनाएका थिए । प्रधानमन्त्री ओली बोर्डको संरक्षक छन् । तर, अहिलेसम्म एकपटक पनि उनले ट्रस्टको सम्पत्तिको संरक्षण र सदुपयोगमा चासो नदिएको एक कर्मचारीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .