यथास्थितिबाट मुक्ति पाउन परिवर्तन आवश्यक हुन्छ। यहाँनेर प्रश्न उठ्छ– परिवर्तन कसले र कसरी गर्ने? यसै सन्दर्भमा म काठमाडौंको वातावरण प्रदूषणबारे लेख केन्द्रित गर्छु।
सामान्यतया वातावरण प्रदूषण न्यूनीकरण गर्न सरकारले नै पहल गर्नुपर्ने हो। दस वर्षयता हामीले विभिन्न राजनीतिक पार्टीका सरकार भोगिसक्यौं, तर काठमाडौंको वातावरण प्रदूषण दिनदिनै बढ्दो छ। एउटा नागरिकका नाताले हामीले पनि यसका लागि केही गर्नुपर्छ कि पर्दैन? हाम्रो पनि उत्तरदायित्व छ कि छैन?
हामी यसो पनि भन्न सक्छौं– यो हाम्रो काम होइन, सरकारको हो। तर यो प्रदूषणको समस्याबाट दुःख पाउने हामी नै हो। धुलो–धुवाँले आँखा पोल्छ, श्वासप्रश्वासको समस्याले अस्पताल जानुपर्दा हाम्रो आफ्नै गोजी रित्तो हुन्छ। त्यस्तै गरेर प्रदूषणका कारण आन्तरिक र बाह्य उडान प्रभावित हुन्छन्, जसका कारण हामी आफ्नो गन्तव्यमा बेलैमा पुग्न सक्दैनौं।
अब भन्नुहोस्– यो समस्या हाम्रो हो कि होइन? हामीले हाम्रो आफ्नै प्रयासबाट मात्र यो समस्याको पूरै समाधान गर्न नसके पनि केही त गर्न सक्छौं होला। भनिन्छ– केही पनि नहुनुभन्दा केही हुनु पनि त राम्रै हो। यसै सन्दर्भमा हामीले आफूले आफ्ना तर्फबाट गरिने प्रयासबारे छोटो चर्चा गर्छु।
केही समय अघिसम्म ठूलाबडाबाहेक हामी सबै पैदल हिँडेर सबै ठाउँ जान्थ्यौं। अहिले पनि नेपालका धेरैजसो ठाउँमा हिँड्नुको विकल्प छैन। हाम्रो कार्यालय वा व्यवसाय हिँडेरै एक घण्टाभन्दा कम समयमै पुगिन्छ भने गाडी नचढ्दा भाडा बचत, स्वास्थ्यका लागि फाइदा अनि प्रदूषण न्यूनीकरणमा पनि मद्दत पुग्छ। कोरोनाका कारण यातायात बन्द भएका बेला काठमाडौं वरपरको वातावरण निकै सफा देखिन्थ्यो।
त्यस्तै कुरा किनमेल गर्न जाँदा आफ्नै झोला लिएर जाने, प्लास्टिकका झोला पुनः प्रयोग गर्ने, प्लास्टिकजन्य वस्तु नजलाउनेजस्ता सानातिना प्रयासबाट पनि वातावरण स्वच्छ राख्ने कार्यमा सहयोग पुर्याउन सकिन्छ।
आम्दानी बढ्नु र तुलनात्मक रूपमा आयातीत सामानको मूल्य घट्नुले पनि हाम्रो समाजका धेरैजसो व्यक्तिको सामान किन्ने क्षमता बढेको छ। फलस्वरूप आवश्यकताभन्दा बढी सामान किनेर थुपार्ने बानी परेको छ। जुन कुरा वातावरणका लागि हानिकारक छ। त्यसैले आफूलाई अत्यावश्यक सामान मात्रै किन्ने बानी बसाल्न जरुरी छ। सस्तो पाइयो भन्दैमा अनावश्यक सामान किनेर थुपार्ने बानी छाडौं।
केही समययता फलफूल, बोटबिरुवाको सम्पर्कमा रहँदा शारीरिक एवं मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पर्ने कुरा धेरैले स्वीकारेका छन्। हामीलाई थाहा भएकै कुरा हो– वनस्पतिबाट हाम्रा लागि अति आवश्यक अक्सिजन पाइन्छ। काठमाडौं उपत्यका वरपर घना जंगल नभएको भए हामी कसरी बस्न सक्थ्यौं होला? कल्पना पनि गर्न सकिन्न।
त्यसैले आफ्ना घर वरिपरि सानातिना भए पनि बोटबिरुवा लगाउने, सागसब्जी रोप्ने, कुहिने वस्तुहरूबाट प्राङ्गारिक मल बनाउनेजस्ता काम गर्ने हो भने आफ्नो स्वास्थ्यमा फाइदा पुग्नाका साथै वातावरण सफा राख्नमा समेत योगदान पुग्छ।
यो काम सानो जग्गामा घर भएका वा भाडामा बस्नेहरूका लागि सम्भव नभए पनि फराकिलो जग्गा भएकाहरूले सजिलै गर्न सकिन्छ। केही समययता काठमाडौंमा गर्न थालिएको कौसीखेती उदाहरणीय छ।
अन्त्यमा, हामीले आफ्ना स्थानीय तथा केन्द्रीय नेताहरूलाई आफ्ना घर वरपरका बाटा तथा पेटी मर्मत गर्न दबाब दिने, जसले गर्दा केही हदसम्म भए पनि धुलोको समस्या कम हुन्छ।
मैले जुन कुरा यहाँ लेखेको छु, त्यो म आफूले पनि व्यवहारमा उतार्ने प्रयास गरिरहेको छु। यी कामका माध्यमबाट मात्र वातावरण प्रदूषणको समस्या समाधान हुन्छ भन्न खोजिएको पनि होइन। यत्ति हो कि थोपाथोपा मिलेरै समुद्र बन्ने हो।
Shares
प्रतिक्रिया