ad ad

विचार


जुनसुकै बेला विस्फोट हुन सक्छन् २० ठूला हिमताल, यी हुन् क्षति कम गर्ने ५ उपाय

चेतावनीको घण्टी मात्र हो थामेको बाढी
जुनसुकै बेला विस्फोट हुन सक्छन् २० ठूला हिमताल, यी हुन् क्षति कम गर्ने ५ उपाय

वसन्तराज अधिकारी
भदौ ३, २०८१ सोमबार १७:५२, काठमाडौँ

गएको शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु ५ थामेमा अचानक लेदो सहितको बाढी आयो। बाढीले विद्यालय, स्वास्थ्य संस्था, घरहरू र जमिनमा ठूलो क्षति पुर्‍यायो। संयोगवश, मानवीय क्षति भने हुन पाएन। विज्ञसहितको टोली पुगेपछि थाहा भयो, थामे गाउँभन्दा माथि रहेका हिमतालमध्ये दुईवटा हिमताल फुटेर बाढी आएको रहेछ। 

हिमताल विस्फोटनको घटना प्रायः अकस्मात नै हुन्छ। तल्लो क्षेत्रमा थाहा हुँदैन, माथिबाट फुटेर आइसकेपछि मात्रै बाढी आउने हो। अध्ययनको लागि पुगेको टोलीले खिचेको भिडिओ हेर्दा हामी देख्न सक्छौँ, माथिको एउटा तालबाट पानी फुटेर तल्लो अर्को तालमा आइसकेपछि त्यहाँबाट गेग्रान भत्केर पानी आएको देखिन्छ। माथिल्लो तालको पानीचाहिँ कसरी तल झर्‍यो? माथिबाट बरफ फुटेर तल झर्‍यो अथवा पहिरो तालमा झरेर पानी आयो, अझै यकिन भइसकेको छैन। हामीले भौगर्भिक नक्साहरू हेर्दा बादल लागेको हुनाले त्यति राम्रोसँग स्पष्ट भएको छैन। सायद भोलिको भू–उपग्रहको नक्साले अलिकति काम गर्ला। 

तर, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने त्यसरी जोखिममा नरहेको (किनभने इसिमोडको अध्ययन र नेपाल सरकारको अध्ययनले पनि त्यसलाई त्यति जोखिममा राखेको थिएन) यस्ता साना ताल फुटेर यस्तो जोखिम निम्त्याउँछ भने ठूला ठूला ताल, जसलाई हामीले जोखिमयुक्त भनेका छौँ, ती फुटे भने कस्तो स्थिति आउला? यो घटनाले सोच्न बाध्य पारेको छ। 

केही समय अगाडि गोरखाको वीरेन्द्र तालमा पनि बरफ फुटेर तालमा खसेपछि ताल छचल्किएर त्यहाँ बाढी आयो। संयोगवश त्यहाँ केही पनि असर भएन। सन् १९८५ मा अहिलेकै थामेकै क्षेत्रमा डिग चो भन्ने हिमताल फुटेर लगभग तयार भइसकेर उद्घाटन गर्ने समय भएको जलविद्युत् नै बगाइदियो। त्यसकारण यस्ता घटनाहरू नेपालमा पहिला पनि भएका छन्। कतिपय चाहिँ घटना भएको छ, तर रेकर्ड भएको छैन। यी त केही प्रतिनिधि घटना मात्रै हुन्। यी घटनाहरूले के देखाइरहेको छ भने सानो ताल फुट्दा यत्रो असर हुनसक्छ, पहिला पनि यस्ता असरहरू भएका छन् र भोलि पनि यस्ता असर हुनसक्छन्। 

यो अहिलेको घटना ‘वेकअप कल’ हो। हामी निदाइरहेका थियौँ, यसले उठाइदियो। अब यो क्षेत्रमा काम गर्नुपर्छ भन्ने यो घटनाले स्पष्ट रूपमा सन्देश दिएको छ। 

२० वटा ठूला हिमताल जुनसुकै बेला विस्फोट हुनसक्छन् 
हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सन् २०२० मा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालको हिमालय क्षेत्रमा सन् २००१ मा गरिएको प्रारम्भिक अध्ययन अनुसार हिमतालको संख्या २ हजार ३२३ छ। जसमध्ये २० वटा सम्भावित विस्फोटको जोखिममा छन्। यी तालहरू जुनसुकै बेला फुट्न सक्छन्।  

हिन्दुकुश–हिमालय क्षेत्रमा हिमताल विस्फोटका घटना नौलो होइन। यस्ता घटनाका असरहरू भौगोलिक अवस्थिति र भूस्वरूपमा निर्भर रहने हुनाले एक देशमा सुरु भएको घटनाले धेरै टाढा र कहिलेकाहीँ अर्को देशमा समेत ठूलो क्षति पुर्‍याएका उदाहरणहरू छन्। एक देशमा हिमताल विस्फोटन भएर अर्को देशमा नोक्सान पुर्‍याउन सक्छ। सन् १९६४ र १९८१ मा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको जाङ्गचाङ्गबो हिमताल विस्फोटको बाढीले नेपालको सीमाभित्र पुर्‍याएको क्षतिलाई उदाहरणका रूपमा लिन सकिन्छ। हिमालय क्षेत्रमा मानिसको जानकारीमा रहेको अहिलेसम्मकै सबभन्दा ठूलो र विनाशकारी हिमजलाशय विस्फोटको घटना भने सन् १९५४ को ब्रम्हपुत्र नदीको मुहान क्षेत्रमा रहेको साङ्गबाङ्गचो हिमजलाशय विस्फोटलाई मानिएको छ। जसले मुहानबाट १२० किमि टाढा रहेको ग्यात्से सहरमा धेरै क्षति पुर्‍याएको थियो भने २०० किमि टाढा रहेको सिगात्से सहरमा पनि नोक्सान गरेको थियो। 

हिमताल विस्फोटन हुँदा बरफ, ढुङ्गा र माटोले बनेको बाँध फुटाइ हिमतालमा रहेको अधिकांश पानी एकैपटक निस्कनाले अचानक बाढीको रूप लिई तल्लो तटीय क्षेत्रमा आउँछ। तल्लो क्षेत्रमा बसेर हेर्नेका लागि मुसलधारे वर्षापछि आउने वा माथिल्लो क्षेत्रमा भूस्खलनपछिको बाँध फुटाएर आउने प्रकृतिको ठूलो र प्रलयकारी बाढी देखिन्छ। प्रत्यक्षदर्शीहरूका अनुसार यो बाढी मेघ गर्जेजस्तो आवाज गर्दै हिलोको गन्ध सहित ठूला ढुङ्गा र रुख समेटिएको पानी र हिलो सरोवर भएको सुसाउँदै र अग्लो पर्खाल सरेजस्तो सर्दै आउने हुनाले बाटोमा पर्ने सबैथोक सोहरेर लैजान्छ। यस्तो बाढी आउँदा केही समय किनाराका क्षेत्रमा ठूलो विनाश छोडेर जान्छ। यसरी हिमताल विस्फोटले छाडेका विनाशको असर आउँदा धेरै वर्षसम्म पनि विभिन्न अवस्थामा रहिरहन्छन्। 

हाम्रा जुन हिमतालहरू छन्, ती निकै नै उचाइमा हुने (४ हजार मिटरभन्दा माथि) भएकाले त्यसको नजिकै त बस्तीहरू छैनन्। तर यदि ठूलो ताल छ, पानी धेरै छ र एकैचोटि फुटेको छ भनेचाहिँ त्यो एक्कासि बगेर तल आउँदा ठूलो क्षति हुन्छ। किनकि सामान्यतया पहाडका बस्तीहरू र खोचमा रहेका बस्तीहरू नदी किनारमा छन्। यस्ता किसिमका बाढीहरूलाई विचार नगरीकन बनाएका बस्तीहरू र पूर्वाधारहरू देखिन्छन्। त्यसकारण हिमताल फुट्दा बस्तीहरू जोखिममा छ। तर कति जोखिम छ भन्ने चाहिँ वैज्ञानिक अध्ययन गर्न सकिन्छ।

ताल फुट्दाखेरी कति जोखिम हुनसक्छ, कुन गतिमा पानी आउँछ, कस्तो गेग्रानहरू ल्याउँछ, त्यसले खोलामाथि कति माथिसम्म असर गर्नसक्छ र कति किलोमिटर तलसम्म असर गर्नसक्छ भनेर वैज्ञानिक अध्ययन गर्न सकिन्छ। तर त्यस किसिमको अध्ययन हालसम्म नभएको हुनाले क्षति गर्छ मात्रै भन्न सकिन्छ, कति क्षति गर्न सक्छ भन्न सक्ने अवस्था छैन। 

नेपाल सरकारले जलवायु परिवर्तनको असरले गर्दा हिमनदी पग्लेर हिमतालहरू बढिराखेको छ भन्ने कुरालाई आफ्नो नीति कार्यक्रममा समेटेको देखिन्छ। केही मन्त्रालयहरूले यस क्षेत्रमा काम गर्ने विभिन्न संस्था तथा दातृ निकायसँग मिलेर केही कार्यक्रम पहिला पनि सुरु गरेका थिए। केही कार्यक्रम अहिले पनि चलिरहेको छ।

तर दुईवटा कुरा हामीले के याद राख्नुपर्‍यो भने नेपाल सरकारले यो विषयलाई पहिलो प्राथमिकतामा राखेर निकै गम्भीरताका साथ अध्ययन अनुसन्धान गर्नुपर्छ भनेर लागेको देखिँदैन। दोस्रो, उच्च हिमाली क्षेत्रमा भएको हुनाले अध्ययन गर्न गाह्रो पनि छ र खर्चिलो पनि छ। त्यो स्रोतसाधन चाहिँ नेपाल सरकारले आफ्नो बजेटबाट राख्न नसकेको देखिन्छ। 

हिमाली क्षेत्रमा जलवायु परिवर्तन भएको छ र यसका नकारात्मक असरहरू परिरहेको छ भनेर अहिलेसम्म हामीले भनिरहेका थियौँ। कतिपय घटनाहरूलाई वैज्ञानिक रूपले जलवायु परिवर्तनसँग जोड्न सकिएको थिएन। तर अहिलेको यो जुन घटना छ, जलवायु परिवर्तनको प्रत्यक्ष नकारात्मक असर हो। किनभने त्यहाँ तापक्रम वृद्धि हुनु र त्यो ठाउँमा धेरै पानी पर्नु जस्ता कारणहरूले। तापक्रम वृद्धिले हिमनदी पग्लिनु र हिमताल फुट्नु जलवायु परिवर्तनको प्रत्यक्ष असर हो। 

त्यसकारण नेपाल सरकारले यो मुद्दालाई वैज्ञानिक रूपले अध्ययन गरेर, यसका तथ्यहरूलाई विश्लेषण गरेर, कोप २८ मा जुन हानिनोक्सानी कोष बनेको छ, त्यो कोषमा हामीले गर्दै नगरेको र विश्वले गरेको कार्बन उत्र्सजनले गर्दा भएको जलवायु परिवर्तनले गरेका नकारात्मक असर कम गर्न हामीलाई त्यो कोष चाहिन्छ भनेर अन्तर्राष्ट्रिय रूपमा दाबी गर्नुपर्छ। र त्यो कोष ल्याएर हामीले अनुकूलन र न्यूनीकरणका कामहरू गर्नुपर्छ।     
   
क्षति कम गर्न गर्नुपर्ने काम 
क) यी तालहरू कुनकुन ठाउँमा, कस्तो अवस्थितिमा छन्। ती तालहरूमा प्रत्येक वर्ष पानीको मात्रा बढेको छ कि घटेको छ भन्ने कुरा भू–उपग्रहबाट निगरानी गर्नुपर्‍यो। 

ख) स्थलगत रूपमा अध्ययन गरेर तालको गहिराइ कति छ, त्यसमा पानी कति छ, त्यसको साइडमा भएको गेग्रान त्यसले थाम्न सक्ने स्थिति छ कि छैन, विभिन्न प्रविधिबाट अध्ययन गर्न सकिन्छ। ती यन्त्र ल्याएर नेपालको तालहरूको स्थलगत रूपमा विज्ञहरू लिएर गएर अध्ययन गर्नुपर्‍यो। 

ग) ताल फुटिसकेपछि तल कतिसम्म असर गर्न सक्छ, कत्रो उचाइमा पानी आउन सक्छ, त्यसले तल्लो भेगका मानवबस्ती, अन्य भौतिक पूर्वाधार केकेमा असर गर्न सक्छ भन्ने कुराको मोडलिङ गर्न सकिन्छ। अहिले त विभिन्न प्रविधिहरू छन्, त्यस्ता अध्ययन पनि हामीले पहिल्यै गर्नुपर्ने हुन्छ, ताकि धेरै क्षति हुन नपाओस्।  

घ) यी अध्ययनहरू गरिसकेपछि हामीले पूर्व सूचना प्रणाली स्थापना गरेर तल्लो तटीय क्षेत्रमा ल है ताल फुट्दै छ वा यस्तो छ अवस्था छ भनेर जानकारी दिने व्यवस्था गर्नुपर्छ। 

ङ) महत्त्वपूर्ण कुरा के हो भने नेपाल सरकारले यसलाई राष्ट्रिय प्राथमिकतामा राखेर विश्वविद्यालयहरूलाई सहभागी गराएर यसको अध्ययन अनुसन्धान गरेर विज्ञानमा आधारित निर्णय प्रक्रियामा जानुपर्छ। 

(अधिकारी इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशक हुन्)

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .