ad ad

विचार


भूकम्पमा जोडिएका हात जब कोरोना कहरमा छुटे

भूकम्पमा जोडिएका हात जब कोरोना कहरमा छुटे

प्रकाश राई र सम्राट शर्मा
भदौ १४, २०७७ आइतबार १०:५२,

कोभिड–१९ महामारीबाट विश्वका अधिकांश मुलुक पीडित छन्। यो त्रासदिपूर्ण समय कहिलेसम्म रहन्छ– यसको जवाफ कसैसँग छैन। भाइरस र त्यसबाट सिर्जित महामारीबारे धेरै कुरा थाहा भएपनि यो कसरी  र के कारणले सुरु भयो भन्ने विषय अझै पनि टुंगो लागेको छैन।

मानव सभ्याताको लामो कालखण्डमा विभिन्न महामारी देखिए। कुनै समय मानिसले भयंकर महामारी ठानेको रोगलाई अहिले खतरनाक मानिँदैन। उदाहरणका लागि कुनै समय बिफरले गाउँ–गाउँ नै रित्याएको थियो। यस्ता महामारी रोकथाम गर्न वैज्ञानिकहरुले विभिन्न उपाय पनि पत्ता लगाउँदै आएका छन्।

रोग, महामारीजस्ता समस्याको जालो जति बल गरे पनि व्यक्तिगत रुपमा चिर्न सकिन्न। किनभने यी व्यक्ति–सिर्जित समस्या होइनन्। व्यक्तिगतजस्तो लागेपनि यो सामाजिक समस्या हो। इतिहासनिर्मित समस्या हो। समाजनिर्मित समस्या हो।

हामी सामान्यतयाः भाइरस, ब्याक्टेरिया, आदिका कारणबाट रोग लाग्छ भनेर बुझ्छौं। तर, त्यो ब्याक्टेरिया वा भाइरस आदिको स्रोत के हो र त्यो कसरी फैलिन्छ भन्नेबारे कम विमर्श गर्छौँ। त्यसको ऐतिहासिकता र सामाजिकता के हो भन्नेबारे पनि एकदमै न्यून चर्चा हुन्छ। त्यही भएर, त्यसको उपचार विधि पनि सोहीअनुरुप खोज्ने गर्छौँ। अर्को शब्दमा भन्दा हामी रोगलाई ‘क्लिनिकल’ अर्थमा मात्र बुझ्ने गर्छौँ र त्यसको समाधान पनि त्यही अर्थमा खोज्ने गर्छौं।

कोभिड–१९ लाई पनि धेरैले त्यसरी नै बुझेका छौँ। तर, यो कुनै रोग वा महामारीलाई बुझ्ने आंशिक तरिका मात्र हो। प्रसिद्ध समाजशास्त्री टालकट पार्सन्सले ‘गरिआएको सामाजिक भूमिकाबाट विमुख हुनु’ लाई अस्वस्थाका रुपमा व्याख्या गरेका छन्। सन् १९५१ मा प्रकाशित ‘द सोसल सिस्टम’ नामक पुस्तकमा उनी लेख्छन्– ‘बिरामी हुनु भनेको शारीरिक वा जैविक कुरा मात्र नभई समाजद्वारा निर्देशित गरिएको सामाजिक भूमिकाबाट विमुख हुनु हो।’

सामान्य अर्थमा रोग र विशिष्ट अर्थमा महामारी पनि समाज र इतिहासनिर्मित विषय हो। कुनै पनि रोगको कारण र स्रोत तत्कालीन समाजको ऐतिहासिकता र वर्तमान अवस्थाबाट सिर्जित हुन्छ। भाइरस वा ब्याक्टेरिया आफैँमा मानव सभ्यताको लागि कुनै चुनौती होइनन्। धेरैजसो ब्याक्टेरिया त हानिकारक पनि हुँदैनन्। हानिकारक भाइरस/ब्याक्टेरिया पनि जब एक व्यक्तिबाट अर्कोमा सर्छ वा सर्ने माध्यम सहज हुन्छ, तब मात्र चुनौती बन्छ। त्यसैले, रोग हाम्रो अर्थ–राजनीतिसँग अभिन्न रुपमा गाँसिएको हुन्छ।

अर्कोतिर, यस्ता महामारीको असर पनि बहुआयामिक हुन्छन्। रोगले मानिसलाई बिमार मात्र बनाउँदैन, यसका सामाजिक, आर्थिक, साँस्कृतिक, र राजनैतिक प्रभाव पनि हुन्छन्। कुनैबेला यसले समाजलाई जोड्छ भने कुनैबेला टुक्र्याउँछ। स्वाभाविक रुपले यस्ता समस्याले समाजको पिँधमा रहेका मानिसलाई नै सबैभन्दा धेरै पिरोल्ने गर्छ। राज्यमा कमजोर पहुँच भएका, आर्थिक रुपमा कमजोर र सामाजिक, सांस्कृतिक रुपमा सीमान्तकृत समुदायलाई नै यसले सबैभन्दा बढी नकरात्मक प्रभाव पार्दछ। उदाहरणका लागि अमेरिकामा कोभिड–१९ बाट हुने मृत्युदर श्वेतको तुलनामा अश्वेत समुदायमा बढी छ। साथै, रोग/महामारीले समाजमा चलिआएका संस्कार–संस्कृतिलाई परिवर्तन गर्न पनि बाध्य तुल्याउँछ। सबैभन्दा महत्वपूर्ण कुरा यसले समाज व्यवस्थाका विविध क्षेत्रहरुको वास्तविकतालाई सतहमा ल्याइदिन्छ।

नेपाली समाजमा को स्वस्थ, को अस्वस्थ भन्ने निर्धारण शारीरिक अस्वस्थता, शरीरको उच्च तापक्रम, शिथिलताभन्दा पनि व्यक्तिको सामाजिक, आर्थिक अवस्थिति, पारिवारिक अवस्था, ऊ बस्ने समुदायमा विद्यमान रोगप्रतिको बुझाइ आदिले गर्दछ।

समाजशास्त्री पियर बोर्द्युका अनुसार जसको सामाजिक, आर्थिक, सांस्कृतिक पुँजी बलियो हुन्छ, ती व्यक्तिको अन्य अवस्था पनि राम्रो हुन्छ। यस्तो बुझाइ विकास गर्नुमा राज्यको स्वास्थ्य नीति पनि जिम्मेवार हुन्छ। र, त्यस्तो नीति कुन विचारबाट निर्देशित छ भन्ने विषय झनै महत्वपूर्ण कुरा हो। आज स्वास्थ्य र बजारबीचको सम्बन्ध एकदमै निकट छ। स्वास्थ्य व्यवस्था बजार केन्द्रित र बजार नियन्त्रित छ। तसर्थ कतिपय सन्दर्भमा स्वास्थ्य संस्था नै बिरामी उत्पादन गर्ने थलोका रुपमा परिणत भएका छन्। किनकि बजारबाट निर्देशित संस्थाहरुले स्वाभाविक रुपमा नाफा–घाटाको हिसाब–किताब गर्छन्। र, कुनै पनि संस्था घाटाको व्यापार गर्न चाहँदैन। स्वास्थ्य संस्थाप्रति बढ्दो अविश्वास यसैको परिणाम हो।

सन् १९९० पछि नवउदारवादी अर्थ–राजनीति को उदयसंगै नेपालमा स्वास्थ र शिक्षासम्बन्धी संंस्थाहरु व्यापक मात्रामा खुले। धेरै नेपालीले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाए। विस्तारै ती संस्थाहरु वर्गीय बन्दै गए। धनीका लागि छुट्टै विद्यालय र स्वास्थ्य संस्था अनि गरिबका लागि छुट्टै। ती संस्थाहरुको उदेश्य पनि परिवर्तन हुँदै गए।

वास्तवमा, स्वास्थ्यको सामाजिक बुझाइ धेरै हदसम्म अरुले आफूलाई कसरी हेर्छ भन्नेमा निर्भर हुन्छ। कसैले ‘तिमी त बिरामी देखिन्छौ नि!’ भन्यो भने हामी स्वस्थता र अस्वस्थताको जोडघटाउमा तल्लीन हुन पुग्छौँ। स्वस्थता र अस्वस्थताको समाजशास्त्रीय विश्लेषण पनि धेरै हदसम्म यहीअनुरुप विकास भएको देखिन्छ।

रोग र जीवनशैली
रोग जैविक समस्या मात्र होइन। कस्तो रोग, कति मात्रामा रोग भन्ने विषय समाजसापेक्ष हुन्छ। रोगको उत्पत्ति, विस्तार निश्चित सामाजिक बनोटमा भएको हुन्छ। रोगसँग प्रत्यक्ष रुपमा हाम्रो जीवनशैलीको सरोकार हुन्छ। हामी के र कसरी खाइरहेका छौँ, हाम्रो रहनसहन कस्तो छ भन्ने कुराले रोगको बृहत्तर अवस्थाबारे जानकारी गराउँछ। 

कतिपय रोग जात विशेष, भूगोल विशेष र समुदाय विशेष पनि हुने गर्छ। सिकलसेल एनेमिया तराईमा बस्ने थारु जातिमा बढी पाइएको छ। रक्तकोसिकासम्बन्धी यो रोगबाट धेरै सुदूर र मध्यपश्चिमका थारु समुदाय प्रताडित छन्। त्यस्तै, मुटु, उच्च रक्तचाप, मधुमेहजस्ता रोग सहरका बासिन्दामा बढी भेटिन्छ। यसको मूल कारण उनीहरुको जीवनशैलीलाई लिने गरिन्छ।

२०१७ मा नेपालमा गरिएको एउटा अध्ययनले नेपालमा सरुवा रोगबाट भन्दा बढी नसर्ने रोगबाट मृत्यु हुने देखाएको छ। नेपालमा करिब ६६ प्रतिशत मृत्यु नसर्ने रोगबाट भएको तथ्यांकले देखाउछ। अर्थात्, हामी विस्तारै त्यस्ता रोगसँग बढी नजिक हुँदैछौ, जोसँग हाम्रो जीवनशैलीले प्रत्यक्ष सम्बन्ध राख्छ।

नेपालमा विगत १६ वर्षदेखि मृत्युको प्रमुख कारणमा मुटुरोग रहँदै आएको छ। सन् २००२ देखि २०१६ सम्म नेपालमा करिब सतप्रतिशत मुटुको बिरामी बढेको तथ्यांकले देखाउँछ। दोस्रो, कारक श्वासप्रश्वाससम्बन्धी रोग हो। दुवै रोग बढ्नुको मूल कारण हाम्रो परिवर्तित जीवनशैली नै हो। सहरिया खानेकुरा, वातावरण प्रदुषण, धुम्रपान यसका लागि जिम्मेवार छन्। गरिबी, स्वास्थ्य सुविधाको कमी, पोषणयुक्त खानेकुराको अभाव, सरसफाइको कमी त छँदैछ। दुई छाक टार्न धौ–धौ हुने मानिसको संख्या नेपालमा उच्च छ। तसर्थ, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य पछ्याउने क्रममा नेपालले गरिबी अन्त्यलाई वृहत् कोणबाट व्याख्या गर्न जरुरी छ। जबसम्म अहिलेको जीवनशैलीलाई हामी परिवर्तन गर्न सक्दैनौँ, तबसम्म त्यस्तो विकास लक्ष्य अपूर्ण नै रहनेछ।

रोग र विभेद
रोग आफैँमा ठूलो समस्या हो। तर, रोगभन्दा ठूलो समस्या रोगीहरुलाई गरिने विभेद हो। कतिपय रोगबाट पीडित व्यक्तिलाई विगतमा घृणा गर्ने चलन थियो। ईश्वरको श्राप, पूर्वजन्मको कर्मको फलका रुपमा रोग लागेको मानिन्थ्यो। उदाहरणका लागि कुष्ठ रोगलाई लिन सकिन्छ। सोही व्यवहारको निरन्तरताका रुपमा अहिले कोरोना संक्रमित र स्वास्थ्यकर्मीमाथि भइरहेको विभेदलाई हामी बुझ्न सक्छौँ। यस्ता घटनाले रोगप्रतिको हाम्रो उल्टो बुझाइलाई उदाङ्गो पारिदिएको छ। हो, कतिपय सरुवा रोग नियन्त्रण गर्न भौतिक दूरी कायम गर्नुपर्छ। तर, आजको समाजमा रोगीहरुमाथि जो विभेदपूर्ण व्यवहार गरिएको छ, त्यो विडम्बनापूर्ण छ। यस बुझाइलाई सुल्टो पार्न सकिएन भने रोग भन्दा ठूलो समस्या यही हुने निश्चित छ।

यतिबेला कोरोना लाग्नु डर र ग्लानिको कुरा बनेको छ। रोगीको यो अवस्थाले समाजमा अर्को विकराल समस्या निम्त्याउन सक्छ। पहिलो त यस्तो व्यवहारले सामाजिक दूरीको निर्माण हुन्छ। सामाजिक दूरीले सामाजिक धाँजाहरु पैदा गर्छ। सामाजिक एकता कमजोर हुन्छ। समाजशास्त्री इमिल दुर्खिमले सामाजिक एकतामा आउने कमीलाई आत्महत्याको मुख्य कारण मानेका छन्। जब सामाजिक एकता कमजोर हुन्छ, तब मानिस एक्लो महसुस गर्छ। मानसिक बिरामी हुन्छ। परिणामतः मानिसले आत्महत्यासम्म गर्न पुग्छ।

‘मानिसले गरिबीको कारणले आत्महत्या गर्छ भनिन्छ। तर त्यो सत्य होइन। गरिबलाई हेर्ने समाजको दृष्टिकोण र असमान व्यवहारका कारण मानिसले आत्महत्या गर्छ,’ उनी भन्छन्, ‘नकारात्मक दृष्टिकोण र असमान व्यवहार नहुने हो भने त गरिबीले मानिसलाई एकत्रित बनाउँछ।’

अर्कोतिर, वैयक्तिक स्वतन्त्रताको परिधि बढ्दै जाँदा सामूहिकतामा कमी आएको महसुस पनि हामी गरिरहेका छौँ। रोगको उपचारका लागि जुन किसिमको आत्मियता र सामिप्यता आवश्यक पर्छ, हामी त्यसको उल्टो एकल, व्यक्तिगत र एकात्मक हुँदै गइरहेका छौ। नेपाली समाज कतिसम्मको आत्मकेन्द्रित र व्यक्तिवादी छ भन्ने अहिले देखिँदैछ। भूकम्पमा जोडिएको हात कोरोना कहरमा छुट्यो। सामूहिक रुपमा सय जनासम्म एउटै त्रिपालमुनि बसेर खाएको हामीले भुलिसक्यौँ। यसमा हाम्रो रोगप्रतिको सामाजिक बुझाइ जिम्मेवार छ।

जब भाइरस वा ब्याक्टेरियाले समाजका मूल्य मान्यताहरुमाथि नै नकारात्मक असर पार्छ, यो सामाजिक चुनौती बन्छ। सँगसँगै समाज कति नाजुक अवस्थामा छ भन्ने पनि यसबाट स्पष्ट हुन्छ। आजको भौतिक विकासमा मात्र केन्द्रित विश्व–समाजले त्यो नाजुकता र जोखिमलाई अझ मलजल गरिरहेको छ। कुनै पनि रोग वा भाइरस त्यही समाजमा महामारीको रुपमा फैलिन्छ, जुन समाज कमजोर र जोखिमपूर्ण छ। तसर्थ यो मूलतः सामाजिक अवस्थामा निर्भर हुने कुरा हो। दोस्रो, रोगभन्दा पनि यसले निम्त्याउने चुनौती विशाल हुन्छन्। रोगप्रतिको गलत बुझाइले समाजको सुरक्षा र एकतामाथि नै प्रहार गर्नसक्छ। यो अवस्थालाई न्यूनीकरण गर्न रोगप्रतिको बुझाइ ठीक हुन जरुरी छ।

(राई र शर्मा समाज अध्ययन अनुसन्धान केन्द्रमा आबद्ध छन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .