ad ad

विचार


सेयरबजारमा ‘सर्ट–टर्म ट्रेडिङ’ गर्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

सेयरबजारमा ‘सर्ट–टर्म ट्रेडिङ’ गर्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

अविशेक लामिछाने
पुस २४, २०७७ शुक्रबार १३:६,

पछिल्लो समय नेपालको सेयर बजारमा लगानी गर्नेहरुको आकर्षण बढ्दो क्रममा छ। हरेक आईपीओ अर्थात् कम्पनीहरुको साधारण सेयर निष्काशनमा नयाँ लगानीकर्ताहरु थपिँदै गएका छन्।

उता दोस्रो बजार (सेकेन्डरी मार्केट) मा पनि उस्तै रौनक छ। पहिलोपटक आईपीओ भर्नेहरु पनि दोस्रो बजारमा प्रवेश गर्नथालेका छन्। नेपालमा अहिले खासगरी सर्ट–टर्म ट्रेडिङ अर्थात् छिटो–छिटो सेयर कारोबार गर्ने ‘ट्रेन्ड’ फस्टाउँदो छ।

नेपालमा एक दिनमै कारोबार हुने ‘इन्ट्रा डे सिस्टम’ छैन। बाहिरतिर एक दिनमै किनबेच गर्न पाइन्छ। यहाँ ‘टि प्लस थ्रि सेटलमेन्ट’ भएकाले किनेको सेयर डिम्याट खातामा आउन नै चार/पाँच दिन लाग्छ।

यस हिसाबले हेर्दा कुनै कम्पनीको सेयर किनेर फेरि बेच्नलाई कम्तीमा पनि एक हप्ताको समय लाग्छ। त्यसकारण नेपालको सन्दर्भमा एक हप्तादेखि एक महिनाको बीचमा सेयर किनबेच गर्नुलाई ‘सर्ट–टर्म ट्रेडिङ’ भनिन्छ।

अहिले सर्ट–टर्म कारोबारलाई बजारमा अलि बढी रुचाइएको देखिन्छ। यो बजारको प्रभावले पनि होला। छोटो समयको कारोबार गर्नेको संख्या र रुचि बढ्दै गएको छ। सर्ट–टर्म ट्रेडिङ गर्दा केही कुराहरुमा ध्यान दिनुपर्छ। ती कुराहरु भनेका टेक्निकल एनालिसिस (प्राविधिक विश्लेषण) गर्ने, डिसिपलिन (अनुशासन) मा रहने, इमोसन कन्ट्रोल (हडबडाहट नियन्त्रण) गर्ने, ट्रेडिङ जर्नल (कारोबार पुस्तिका) बनाउने नै हुन्। यी कुराहरु सर्ट–टर्म ट्रेडिङका विचारणीय पक्ष हुन्।

पहिलो त आज बढिरहेको सेयर एक हप्ता पछिसम्म पनि अझ बढ्छ कि बढ्दैन भनेर आकलन गर्न सक्नुपर्छ। किनभने नेपालमा विदेशतिर जस्तो अर्को दिन नै बेच्न सकिँदैन। अतः यो कुराको विश्लेषण गर्न जरुरी छ। अहिले बजार बढिरहेको छ। यसले ‘सर्ट–टर्म’ कारोबार गर्नेलाई फाइदा नै पुगेको छ। यो सँगसँगै बिर्सिनै नहुने अर्को कुरा हो– बजार ‘बेयरिस’ अर्थात् घट्दो बजारमा फस्नसक्ने सम्भावना।

यसको लागि सेयर बजारमा ‘डिसिपलिन’ भन्ने हुन्छ। कस्तो खालको सेयर हो त्यो बुझेर लगानीकर्ताले नाफा खाने लक्ष्यविन्दु र घाटा सहने विन्दु (रिस्क रिवार्ड म्यानेजमेन्ट) राख्नुपर्छ। कति समयको लक्ष्य राख्ने भन्नेबारे सोच्नुपर्छ।

‘सर्ट–टर्म ट्रेडिङ’ गर्दा जोखिम व्यवस्थापन महत्वपूर्ण हुन्छ। यो भनेको कुनै पनि सेयर किन्नुभन्दा अगाडि किन किन्ने? त्यो सेयरको प्रतिफलको लक्ष्य कति हो र घाटा कति सहने भन्ने कुरामा ध्यान दिनुपर्छ।

सेयर सधैँ माथि जान्छ भन्ने पनि छैन। यदि आफूले किनेको सेयर घट्यो भने यतिसम्म झर्दा धान्न सक्छु भन्ने योजना बनाउनुपर्छ। यसलाई सेयरबजारको भाषामा ‘लस बुक’ भनिन्छ। जस्तो कि पाँच सय प्रतिकित्तामा किनेको सेयर लगानीकर्ताले ६ सय पुगेपछि बेच्ने लक्ष्य राखेको छ भने त्यो लक्ष्य भेटेपछि बेच्नुपर्छ। अझ बढी हुन्छ कि भनेर ‘लोभ’ गर्न थालियो भने यसलाई डिसिपलिनमा बसेको मान्न सकिँदैन।

यसलाई ‘इमोसन कन्ट्रोल’ भनिन्छ। लक्ष्य पुगिसक्यो, अझै बढ्छ भनेर कुरेर बसेर हुँदैन। आफ्नो रणनीतिलाई कडाइका साथ पालना गर्नुपर्छ। त्यस्तै, एक महिनाको अवधिमा कारोबार गर्छु भनेर योजना बनाइएको छ भने पनि त्यो समयको नियममा बस्नुपर्छ। ‘सर्ट–टर्म’ कारोबार गर्नलाई एक हप्तादेखि एक महिनाभित्र ‘सेटलमेन्ट’ गराउनुपर्छ।

अर्कोतिर, ५ सयमा किनेको सेयर ४ सयमा झर्‍यो र ‘लस बुक’ गरिएन भने ‘डिसिपलिन’ मा बसेको मानिँदैन। यतिमा झरेपछि ‘लस बुक’ गर्छु भन्ने योजना पहिले नै बनाउनुपर्छ। जहिले पनि हामीले ‘रिस्क’ भन्दा ‘रिवार्ड’ लाई बढी राखेर सेयर कारोबार गर्ने योजना बनाउनुपर्छ। यदि कुनै पनि कारोबारमा ‘रिवार्ड’ भन्दा ‘रिस्क’ बढी छ भने त्यो राम्रो हुँदैन र लिनुहुँदैन।

यो सबै योजना बनाएर बजारमा प्रवेश गर्नुपर्छ। यहाँ त कस्तो देखिन्छ भने ‘सर्ट–टर्म ’ कारोबार गर्छु भनेर सेयर बजारमा छिर्छन्। सेयर किनेको विन्दुबाट तल झर्न थाल्छ तर घाटा हुन्छ भनेर ‘लस बुक’ गर्दैनन् अर्थात् बेच्दैनन्।

यसो गर्दा त्यो ‘सर्ट–टर्म’ कारोबारभन्दा पनि ‘इन्भेस्टमेन्ट’ हुनपुग्छ। यसको अर्थ के हो भने यदि ५ सयमा किनेको सेयर ४ सयमा झर्दा पनि बेचिएन र जबसम्म नाफामा जाँदैन तबसम्म बेच्दिन भनियो भने त्यो लगानी हो। ‘सर्ट–टर्म ट्रेडिङ’ होइन। यस्तो परिदृश्य बजारमा धेरै देखिन्छ।

यदि लगानीकर्ता ‘सर्ट–टर्म ट्रेडिङ’ को अनुशासनभित्र बस्छन् भने एउटा सेयरको ‘लस बुक’ गरेर त्यसलाई अर्को सेयरमा लगानी गरी नाफा निकाल्नुपर्छ। यदि तपाईंले ‘लस बुक’ गर्नुभएन भने ‘सर्ट–टर्म ट्रेडिङ’ मा राखेको पैसा लामो समय ‘फ्रिज’ हुनपुग्छ।

जोखिम व्यवस्थापनका कुरा गर्दा जहिले पनि १ः१ भन्दा माथि राख्नुपर्छ। यसको अर्थ के हो भने ५ सय रुपैयाँ प्रतिकित्ताको सेयरमा ५० रुपैयाँ घाटा सहने क्षमता छ, त्योभन्दा बढी ‘होल्ड’ गर्न सक्दिन भन्ने हुनुपर्छ। बरु ‘लस बुक’ गर्छु भन्ने हुनुपर्छ।

नाफामा भने प्रतिसेयर ५० भन्दा बढी लक्ष्य राख्नुपर्छ। घाटाभन्दा फाइदामा बढी लक्ष्य राख्नुपर्छ।

अर्को महत्वपूर्ण कुरा के छ भने सेयर बेच्दा हुने फाइदामा लाग्ने कर, ब्रोकर कमिसन हिसाब गर्न बिर्सिनु हुँदैन। ब्रोकर कमिसन, पुँजीगत लाभकरलगायतको शुल्क १.५ प्रतिशतभन्दा माथि हुन्छ। त्यसैले नाफामा सधैँ ५ प्रतिशतभन्दा माथि हुनुपर्छ। ५ प्रतिशतभन्दा तलकै लक्ष्य राख्ने हो भने आफूले कमाउनेभन्दा पनि ब्रोकर कमिसनदेखि अन्य शुल्क तिर्नेमात्र काम हुन्छ।

यसको लागि सेयर फिल्टर गर्न सक्नुपर्छ। त्यसो गर्न टेक्निकल एनालिसिस अर्थात् प्राविधिक विश्लेषण सिक्नुपर्छ।

‘सर्ट–टर्म’ कारोबारलाई ‘टेक्निकल एनालिसिस’
‘सर्ट–टर्म ट्रेडिङ’ धेरै जोखिमपूर्ण पनि हुन्छ। कुनै पनि ज्ञान नलिई बजारमा छिरेर हुँदैन। जस्तो कि ‘टेक्निकल एनालिसिस’। ‘सर्ट–टर्म ट्रेडिङ’ गर्नुभन्दा अगाडि ‘टेक्निकल एनालिसिस’ सिक्दा राम्रो हुन्छ। यसले लगानीकर्तालाई कहाँनेर नाफा बुक गर्ने, कहाँनेर घाटा बुक गर्ने, समयावधि कति राख्ने भन्ने सिक्न सकिन्छ।

कुनै पनि सेयरको माग कुन बेला आउनसक्छ, कुन बेला सप्लाई आउनसक्छ, मूल्य (प्राइस मुभमेन्ट) कता गइरहेको छ, कति लक्ष्य राख्ने जस्ता कुरा ‘टेक्निकल एनालिसिस’ बाट आउनसक्छ। नभए हचुवामा लक्ष्य निर्धारण गर्न सकिँदैन। बजार बढिरहँदा सबै सेयर बढ्छ भन्ने पनि छैन। कति सेयर घटिरहेको पनि हुन्छ। त्यसैले कुन सेयर छोटो अवधिमा बढ्नसक्छ र घट्नसक्छ भन्ने कुरा बुझ्न ‘टेक्निकल एनालिसिस’ जान्नुपर्छ।

एक महिनाभित्रको ट्रेडिङमा ‘फन्डामेन्टल एनालिसिस’ मात्र गरेर राम्रो सेयर छान्न नसकिने हुनसक्छ। फन्डामेन्टल एनालिसिस अर्थात् आधारभूत विश्लेषण भनेको सामान्यतया लामो समयको लक्ष्य राखेर गरिने सम्बन्धित कम्पनीबारेको विश्लेषण हो। यसले लगानीकर्तालाई फाइदा हुने देखिन्छ। फन्डामेन्टल एनालिसिसबाट कम्पनीको वित्तीय अवस्था कस्तो छ, व्यवस्थापन कस्तो छ जस्ता कुरा थाहा पाउन सकिन्छ।

ट्रेडिङ जर्नल र सानो लगानी
‘सर्ट–टर्म’ कारोबार गर्नेहरुले अनिवार्य रुपमा ट्रेडिङ जर्नल बनाउनुपर्छ। कुन सेयर किन्ने, कति लक्ष्य राख्ने, घाटा कतिसम्म राख्ने, कुन मितिमा लक्ष्यप्राप्ति भयो, कहिले ‘लस बुक’ भयो, यी सबै कुरा राखेर ट्रेडिङ जर्नल बनाउनुपर्छ।

यसले गर्दा कारोबारका क्रममा के गल्ती गरेको रहेछु, के–के सुधार गर्नुपर्ने रहेछ भन्ने थाहा हुन्छ। त्यसकारण ट्रेडिङ जर्नल ट्रेडिङको लागि अतिमहत्वपूर्ण छ। त्यस्तै, सेयरबजारका नवप्रवेशीहरुले आफ्नो क्षमता कति छ, त्यसअनुसार लगानी गर्नुपर्छ। नयाँ प्रवेशीले एकै पटक धेरै लगानी गर्छु भनेर पस्नुहुँदैन।

‘सर्ट–टर्म’ कारोबार गर्दा धेरै लगानी चाहिँदैन। जस्तो कि एक लाख रुपैयाँ लगानी गर्‍यौँ भने र एक महिनामा १० प्रतिशतको नाफा लक्ष्य र ५ प्रतिशतको घाटा राख्यौँ भने पनि नाफा हुँदा दश हजार रुपैयाँ हुन्छ। घाटामा गएमा ५ हजार हुन्छ। त्यसैले हामीले सोचेअनुसार ६० प्रतिशत मिल्न गए पनि नाफामा जान सकिने अवस्था हुन्छ।

‘सर्ट–टर्म’ लगानी गर्नेले थोरै लगानीमा डिसिपलिनलाई कडाइसाथ पालना गरेर सेयर बजारमा पस्न सकिन्छ। ‘सर्ट–टर्म’ लगानी गर्छु भन्नेहरु कहिलेकाहीँ ‘इन्भेस्टर’ मा पनि परिणत भइरहेका हुन्छन्। ‘डिसिपलिन’ को पालना नगर्दा यसो हुनजान्छ।

(लगानी स्कुलका टेक्निकल एनालिसिस प्रशिक्षक अविशेक लामिछानेसँग नेपालखबरका सन्तोष न्यौपानेले गरेको कुराकानीमा आधारित)

यो पनिः
१० कित्ता आईपीओ बेच्दा फाइदा कि होल्ड गर्दा?
सेयरबजारबाट राम्रो नाफा कसरी लिने? लगानीकर्तालाई ६ सुझाव

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .