संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
उनको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए। त्यसक्रममा नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गरेको थियो।
त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाए।
नेम्वाङलाई प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिए।
पार्थिव शरीरमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएपछि नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो।
नेम्वाङको गत मंगलबार बालुवाटारस्थित निवासमा निधन भएको थियो। निवासमै अचेत भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यही दिन बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
उनको पार्थिव शरीरलाई एक दिन नेकपा एमाले पार्टी कार्यालय च्यासल र एक दिन निजी निवास बालुवाटारमा राखिएको थियो।
आज बिहान निजी निवासबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो।
Shares
प्रतिक्रिया