ad ad

फोटोफिचर


खुल्यो धरहरा, परिचय खुल्ने कागजात भए प्रवेश निःशुल्क (तस्बिरहरू)


सरोज नेपाल
असोज ३, २०८१ बिहिबार १६:५७, काठमाडौँ

भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो।

यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो। सोही अनुसार तत्कालका लागि निःशुल्क रुपमा धरहरामा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ। 

शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा सर्वसाधारणले धराहराको अवलोकन गर्न पाउनेछन्। तत्कालका लागि निःशुल्क धरहरा अवलोकन गर्न पाउने व्यवस्था गरिएको शहरी विकास तथा भवन निर्माण विभागका अधिकृत वीरसिंह भण्डारीले जानकारी दिए। 

उनले धरहरा हेर्नेहरूको घुइँचो लागेकाले व्यवस्थापनको काममा चाप परेको पनि बताए। धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी मात्रै भएपनि हुनेछ। 

‘धराहरा घुम्नका लागि कागजातहरू नबोके पनि हुन्छ। मोबाईलमा फोटा खिचेर ल्याउनु। कुनै न कुनै आइडी। नागरिकता वा पासपोर्टको, भोटर आईडी वा लाईसेन्स जुन भएपनि हुन्छ। तर हार्डकपी नै बोक्नुपर्छ भन्ने छैन। फोटोकपी खिचेर ल्याए भयो। अहिले तत्काललाई आईपी एड्रेस छ। त्यसमा लगइन गर्ने, भर्ने। त्यो भरेपनि क्यूआर जेनेरेट हुन्छ। त्यो हाम्रो कर्मचारीलाई देखाउनु भयो भने त्यो उहाँहरूले रिड गर्नुहुन्छ। त्यसै आधारमा अहिले तत्काललाई निःशुल्क घुम्ने व्यवस्था मिलाइएको छ। आजबाट सुरु भयो। अहिलेलाई निःशुल्क छ,’ उनले भने।

शहरी विकास मन्त्रालयअन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागका अनुसार धरहरा चढ्न प्रि–टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरास्थलमै गएर टिकट लिनुपर्नेछ।

यसैबीच सर्वसाधारणले पनि धरहराको पुनर्निर्माण भएको खुसी व्यक्त गरेका छन्। उनीहरूले त्यहाँको प्रवेशका लागि सहज वातावरण निर्माण गरिदिन पनि व्यवस्थापन पक्षसँग अनुरोध गरे। धरहरा चढ्न पुगेका सर्वसाधारणले देशको गहनाको रुपमा रहेको धरहरा पुनर्निर्माणमा केही ढिलो भएको पनि प्रतिक्रिया दिए।

२०७२ सालको विनाशकारी भूकम्पले ढलाएको धराहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ। सो धरहरा अपांगतामैत्री भएकाले उनीहरुलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ।

दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा पुननिर्माणको काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी सुरु भएको थियो। आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो।

जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ। भित्र छिरेपछि दुई तला भूमिगत छ। भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .