ad ad

राजनीति


मन्त्री बनाउँदै पार्टी नेतृत्वका आकांक्षीलाई व्यवस्थापन गर्दै देउवा

मन्त्री बनाउँदै पार्टी नेतृत्वका आकांक्षीलाई व्यवस्थापन गर्दै देउवा

केशव सावद
साउन ५, २०७८ मंगलबार २२:२८,

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनकेन्द्रित भएर आफूनिकटका नेताहरुको व्यवस्थापनमा लागेका छन्। कांग्रेसमा पदका आकांक्षी धेरै देखिएपछि उनले आफूनिकटका नेताहरुको व्यवस्थापन थालेका हुन्।

आगामी महाधिवेशनमा संस्थापन पक्षबाट पदाधिकारीका आकांक्षी धेरै देखिएका छन्। सबैभन्दा धेरै महामन्त्री पदका आकांक्षी छन्। महामन्त्रीका आकांक्षीमध्ये दुई जनालाई प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा व्यवस्थापन गरेका छन्।

उनले बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाएका छन्। आफूले प्रधानमन्त्रीको शपथ लिएकै दिन देउवाले खाणलाई गृहमन्त्री र कार्कीलाई कानुन, न्याय तथा संघीय मामिलामन्त्री बनाएका थिए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाण गृहमन्त्री भएपछि त्यो जिम्मेवारी देउवाले मीन विश्वकर्मालाई दिने तयारी गरेका छन्। विश्वकर्मा चाँडै नै प्रमुख सचेतक बन्ने कांग्रेस स्रोतले जनायो।

केन्द्रीय सदस्यसमेत रहेका समानुपातिक सांसद विश्वकर्माले महाधिवेशनमा कुन पदमा प्रतिस्पर्धा गर्ने भनेर नखुलाए पनि उनलाई सहमहामन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ।

प्रधानमन्त्री देउवाले महामन्त्रीका अन्य चार आकांक्षीमध्ये एक जनालाई प्रमुख राजनीतिक सल्लाहकारमा व्यवस्थापन गर्ने सम्भावना रहेको पनि स्रोतले बतायो।

संस्थापन समूहबाट महामन्त्रीका आकांक्षी सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु एनपी साउद र रमेश लेखकमध्ये कुनै एक जनालाई सल्लाहकार बनाउने देउवाको योजना छ।

यद्यपि, राजनीतिक सल्लाहकार बनाउने भनिएका नेताहरुले प्रधानमन्त्री देउवाको तयारीबारेमा अनभिज्ञता प्रकट गरे।

‘यसबारेमा मलाई केही जानकारी छैन,’ सहमहामन्त्री महतले नेपालखबरसँग भने, ‘मसँग सरसल्लाह भएको छैन।’  साउदले पनि यसबारेमा आफूलाई जानकारी नभएको र यस दाैडमा आफू नरहेको बताए। 

गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। 

उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ। 

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।

तर, क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण साउन १२ बाट अधिवेशन सुरु नहुने निश्चितप्रायः छ। कांग्रेस नेताहरुले उक्त कार्यतालिका फेरि संशोधन हुने सम्भावना अत्याधिक रहेको बताउँदै आएका छन्। 

उनीहरुका अनुसार केन्द्रीय महाधिवेशनको निर्धारित मिति यथावत राखेर अन्य तहका कार्यसमितिको अधिवेशनको मिति १० दिन पछि सारिनेछ। 

कांग्रेस सहमहामन्त्री डा. महतले केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राखेर तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर हुने सम्भावना रहेको बताए।

कांग्रेसमा चुनावी प्रक्रिया घटाएर महाधिवेशन आयोजना गर्ने पनि तयारी भइरहेको छ। पार्टीको तल्लो तहका केही कार्यसमितिहरुको अधिवेशन थाती राख्ने विषयमा छलफल भइरहेको छ।

कांग्रेस स्रोतले वडा, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी भइरहेको जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार आगामी भदौमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यताका कारण पार्टीमा केही तहका अधिवेशनहरु थाती राखेर भएपनि महाधिवेशन गर्ने तयारी भइरहेको नेताहरुको भनाइ छ।

कांग्रेसका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तह हुने गरी विधानमा व्यवस्था गरिएको छ। सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पार्टीका संरचनाहरु हुने व्यवस्था छ। 

महाधिवेशनका लागि निर्धारित मिति नजिकिँदै गए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न हुन ढिलाइ भइरहेका कारण पाँच तहका अधिवेशनहरु नगरिकनै महाधिवेशन आयोजनाका लागि तयारी भइरहेको सभापति पदका एक आकांक्षी नेताले नेपालखबरलाई जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .